साउन २६ ,काठमाडौं । गल्फ खेलमा महिलाको नेतृत्व विकास र सहभागिता बढाउने उद्देश्यले द आर एन्ड ए ले भारतमा पहिलोपटक ‘वुमन इन गल्फ लिडरसिप फाउन्डेसन प्रोग्राम’ सुरु गरेको छ। कार्यक्रमलाई डिपी वर्ल्ड इन्डिया च्याम्पियनसिप लिगेसी फन्डले सहयोग गरेको छ।
भारतमा सुरु गरिएको पहिलो संस्करणका लागि गल्फ उद्योगका विभिन्न क्षेत्रमा कार्यरत १० जना महिला छनोट भएका छन्। उनीहरूले नेतृत्व क्षमता विकास, व्यावसायिक सीप अभिवृद्धि र करियरमा अघि बढ्न आवश्यक मार्गदर्शन तथा प्रशिक्षण प्राप्त गर्नेछन्।
कार्यक्रमअन्तर्गत सहभागीहरूले दिल्लीमा आयोजित पहिलो प्रत्यक्ष कार्यशालामा सहभागिता जनाइसकेका छन्। नेतृत्व विकास विशेषज्ञको सहजीकरणमा भएको उक्त कार्यशालासँगै सहभागीहरूको विकास यात्रा सुरु भएको हो। उनीहरूको कार्यक्रम अक्टोबरमा हुने डिपी वर्ल्ड इन्डिया च्याम्पियनसिपसम्म जारी रहनेछ।
कार्यक्रममा बर्डिज कनेक्ट, प्रेस्टिज गोल्फशायर क्लब, द गोल्फ रिभोलुसन, प्रोटच स्पोर्ट्स, प्रोफेशनल गोल्फ टुर इन्डिया, इन्डियन गोल्फ युनियन तथा जेन गोल्फ रेन्ज एण्ड एकेडेमीलगायत संस्थासँग आबद्ध महिलाहरू सहभागी छन्। सहभागीमध्ये व्यावसायिक गल्फर, प्रशिक्षक र अन्तर्राष्ट्रिय रेफ्रीसमेत छन्।
कार्यक्रममा कार्यशाला, कोचिङ, मेन्टरिङ तथा सहभागीबीचको अनुभव आदानप्रदानमार्फत नेतृत्व, सञ्चार, व्यक्तिगत विकास र करियर प्रगतिका विषयमा प्रशिक्षण दिइनेछ। साथै, गल्फ उद्योगभित्र महिलाका लागि व्यावसायिक सञ्जाल विस्तार गर्ने अवसरसमेत प्रदान गरिने आयोजकले जनाएको छ।
द आर एन्ड एका अनुसार कार्यक्रमको उद्देश्य गल्फ क्षेत्रमा महिलालाई नेतृत्वदायी भूमिकामा अघि बढाउन सहयोग गर्नु र खेललाई थप समावेशी तथा विविधतायुक्त बनाउनु हो। सन् २०१९ मा सुरु भएको यस कार्यक्रमले यसअघि पनि गल्फ क्षेत्रमा कार्यरत महिलाको आत्मविश्वास, नेतृत्व क्षमता र व्यावसायिक सञ्जाल विस्तारमा सहयोग गर्दै आएको छ।
भारतमा कार्यक्रम विस्तार हुनु डिपी वर्ल्ड इन्डिया च्याम्पियनसिप लिगेसी फन्डको दीर्घकालीन पहलअन्तर्गत भएको हो। उक्त फन्डले भारतमा गल्फको सहभागिता विस्तार, प्रतिभा विकास र खेलसँग सम्बन्धित नयाँ अवसर सिर्जना गर्ने परियोजनालाई सहयोग गर्दै आएको छ।
आयोजकले भारतमा महिलाको नेतृत्व विकासमार्फत गल्फ उद्योगलाई थप विविध र समावेशी बनाउने तथा भविष्यका महिला नेतृत्वकर्ता तयार गर्ने लक्ष्य राखेको छ।