web image
साउन ३१ ,काठमाडौं । विश्वप्रसिद्ध गायिका बोनी टाइलरको पार्थिव शरीर उनको गृह नगर वेल्स ल्याइएको छ। उनलाई अन्तिम श्रद्धाञ्जली दिन शनिबार सयौं स्थानीयवासी र प्रशंसक सडकमा भेला भएका थिए।
विशिष्ट स्वरशैली र चर्चित गीत ‘टोटल इक्लिप्स अफ द हार्ट’ का लागि परिचित टाइलरको गत जुलाई ८ मा पोर्चुगलमा ७५ वर्षको उमेरमा निधन भएको थियो। केही महिनाअघि आन्द्रासम्बन्धी समस्याका कारण उनको शल्यक्रिया गरिएको थियो।
वेल्सको स्वान्जी नजिकैको मम्बल्स क्षेत्रमा वेल्शको झन्डाले ढाकिएको शवबाहनको स्वागत गर्न स्थानीयवासीहरू सडकमा उभिएका थिए। धेरै प्रशंसकले उनको पूर्व निवासबाहिर फूल चढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए।
वेल्सको स्काइवेनमा जन्मिएकी टाइलरलाई ‘ब्रिटेनकी पहिलो महिला रक गायिका’ का रूपमा चिनिन्छ। उनले संगीत क्षेत्रमा पुर्याएको योगदानको सम्मानस्वरूप सन् २०२२ मा ‘मेम्बर अफ द अर्डर अफ द ब्रिटिस एमपायर’ उपाधि प्राप्त गरेकी थिइन्।
उनका ‘टोटल इक्लिप्स अफ द हार्ट’, ‘इट्स ए हार्टएक’ र ‘होल्डिङ आउट फर ए हिरो’ जस्ता गीत विश्वभर लोकप्रिय छन्। विशेषगरी ‘टोटल इक्लिप्स अफ द हार्ट’ ले स्ट्रिमिङ प्लेटफर्ममा १ अर्बभन्दा बढी श्रोता प्राप्त गरेको छ।
उनको सम्झनामा सोमबार स्वान्जीस्थित एक चर्चमा विशेष कार्यक्रम आयोजना गरिनेछ। त्यसपछि उनको पार्थिव शरीरलाई जन्मस्थान स्काइवेनमा अन्तिम संस्कारका लागि लगिनेछ।
Share this with your friends: