पुष १९, काठमाडौं । पुसको कठ्याग्रिँदो चिसोमा रात बिताउने कुनै ठाउँ नभएर सडकमा बस्न बाध्य बेसहारालाई प्रहरीले उद्धार गर्न थालेको छ। महानगरीय प्रहरी परिसर टेकुले राजधानीका विभिन्न सडकमा रात बिताउन बाध्य ७ जनाको मंगलबार उद्धार गरेको हो। सडकमा कष्टप्रद जीवन बिताउने बालबालिकादेखि वृद्धवृद्धासम्मको उद्धार गरेर पुनःस्थापना थालिएको परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए। ‘चिसो बढेसँगै सडकमा रात बिताउन बाध्य असहाय वृद्धवृद्धा र बालबालिका जोखिममा परेर मृत्युसमेत हुने गरेकाले उद्धार थालेका हौं’, उनले भने, ‘बेसहारा बनेका यस्ता मानिसलाई पुनःस्थापित गर्न आवश्यक भइसकेको छ। यस क्रममा उनीहरू सडकमा आउनुको कारण, परिवारको अवस्था जस्ता कुरा पत्ता लगाउन पनि हामी जुटेका छौं।’
प्रहरीले यसक्रममा मंगलबार राति कालिमाटी, स्वयम्भू र सीतापाइला क्षेत्रबाट ७ पुरुषको उद्धार गरी हिमालय वृद्धा श्रम गोंगबुमा पठाएको छ। प्रहरीले कालिमाटीबाट ४० बर्सका भीमसेन बासकोटा र ५० बर्सका रवि थापाको उद्धार गरेको छ। स्वयम्भूबाट ५५ बर्सका दीपेश राई, ५४ बर्सका नवराज ठकुरी, ४० बर्सका राम काजी, ५० बर्सका लक्षमण ढकाल र ६५ बर्सका ज्ञानेन्द्र सिंहको उद्धार गरेर गोंगबुस्थित वृद्धा श्रममा पठाएको छ। प्रवक्ता बोगटीका अनुसार उद्धार गरिएका सबैको परिवार र आफन्तको खोजी थालिएको छ। ‘अहिलेलाई उनीहरूको आवश्यक उपचार र परामर्शसहित परिवारमा पुनःस्थापना गर्न प्रहरीले विभिन्न संघ–सस्थासँग समन्वय गरिरहेको छ’, उनले भने। प्रहरीले काठमाडौंको सडक व्यवस्थित र सुरक्षित बनाउने योजनाअनुसार सडकमा बस्न बाध्य मानिसको उद्धार र पुनःस्थापना अभियान थालेको हो। यसका लागि संघ संस्था र सरकारी निकायसँग समन्वय गरिएको पनि परिसरले जानकारी दिएको छ।
अन्नपुर्ण खबरमा प्रकाशित