भाद्र १४, कठामाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेकको चौथो शिखर सम्मेलन आज अपराह्न एक विशेष समारोहका बीच राजधानीमा आरम्भ हुँदैछ ।
प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुकले भाग लिँदैछन् ।
सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्माका राष्ट्रपति विन मिन्त, श्रीलङकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चाले भाग लिनेछन् ।
शिखर बैठकको प्रारम्भसँगै अध्यक्ष ओलीपछि सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले वर्णानुक्रमअनुसार सम्बोधन गर्नेछन् । सम्मेलनमा भाग लिन अन्य देशका विशिष्ट अतिथि काठमाडौं आइसकेका छन् ।
काठमाडौं घोषणापत्र जारी गर्दै भोलि अपराह्न शिखर सम्मेलन समापन हुनेछ । सम्मेलन समाप्तिसँगै बिम्स्टेकको अध्यक्षता श्रीलङ्काले गर्ने छ ।