असोज ४, बाजुरा । बडीमालिका नगरपालिका–५ मनागाउँमा बिचल्लीमा परेका पाँच बालबालिकालाई उच्च शिक्षाका लागि काठमाडौं लगिएको छ ।
बुबा रामबहादुर साउदको क्यान्सरका कारण मृत्यु र आमाले छोडेर अन्तै गएपछि बिचल्लीमा परेका ती बालबालिकालाई एसोएस बालग्रामले पालनपोषण र उच्च शिक्षासम्मको अध्ययनका लागि बुधबार काठमाडौं लगेको हो ।
‘पाँच अनाथ बालबालिका अभिभावकबिहीन भई बिचल्लीमा’ भन्ने समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित भएपछि उनीहरुको परिस्थिति अध्ययन गरी काठमाडौं लगिएको बालग्रामका जिल्ला प्रमुख पदम हमालले बताए ।
बेसाहरा बालबालिकाको गाँसबास र कपासका लागि यसअघि समाजसेवी इशा गुरुङले बेलायतबाट विश्वरभरि सहयोगका लागि अभियान चलाएकी थिईन् भने अर्का सामाजसेवी खुशी राईले नेपालमै उनीहरूकै सहयोगका लागि विभिन्न ठाउँमा पहल गर्दै आएकी थिईन् ।यसैगरी पत्रकार महासङ्घका जिल्ला शाखा अध्यक्ष प्रकाश सिंहले आर्थिक सहयोगका लागि विभिन्न ठाउँमा समन्वय गरेर रकम सङ्कलन गरेका थिए।
तीन वर्षअघि रामबहादुरको क्यान्सरका कारण ४३ वर्षको उमेरमै मृत्यु भएको थियो । श्रीमानकोे मृत्यु भएको १० महिना नपुग्दै श्रीमती बिर्मा अर्कैसँग हिँडेपछि ती बालबालिका बिचल्लीमा परेका थिए । रामबहादुरका पाँच सन्तानमध्ये १३ वर्षीया पार्वती, ११ वर्षीया सोविना, नौ वर्षीया अस्मिता, सात वर्षीय सुवास र ४ वर्षीय रोशन अहिले बालग्राममा छन् ।
संविधान दिवस २०७५ को अवसरमा ती पाँच बालबालिकाको पालनपोषणका लागि विभिन्न ठाउँबाट सहयोग स्वरुप सङ्कलन भएको रु. पाँच लाख हस्तान्तरण गरिएको छ ।