web image
साउन २६ ,काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालु आर्थिक वर्षको बजेट नगरसभामा पेश गर्न नसकेका मधेस प्रदेशका चार नगरपालिकामा स्थलगत सहजीकरण गर्ने भएको छ।
मन्त्रालयका अनुसार बजेट पेश गर्ने वातावरण बनाउन विभिन्न तहमा पहल र समन्वय गरिए पनि समस्या समाधान हुन नसकेपछि सहसचिवको नेतृत्वमा संयुक्त टोली सम्बन्धित स्थानीय तहमा पुग्न लागेको हो।
टोलीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र तथा नेपाल नगरपालिका संघका अध्यक्षलगायतका प्रतिनिधि सहभागी हुनेछन्।
टोलीले धनुषाको कमला नगरपालिका तथा रौतहटका गरुडा, फतुवा विजयपुर र मौलापुर नगरपालिकामा पुगेर स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालासँग प्रत्यक्ष छलफल गर्नेछ।
स्थानीय तहमा बजेट निर्माण तथा नगरसभा सञ्चालनमा देखिएका समस्या पहिचान गरी आवश्यक सहजीकरण र समन्वय गर्ने मन्त्रालयले जनाएको छ।
समयमै बजेट पारित हुन नसक्दा स्थानीय तहको सेवा प्रवाह तथा विकास निर्माणका काम प्रभावित हुने जोखिम रहेकाले समस्या समाधानका लागि मन्त्रालयले स्थलगत पहल गर्न लागेको हो।
मन्त्रालयले स्थानीय तहमा देखिएका बजेट तथा नगरसभा सञ्चालनसम्बन्धी समस्या समाधानका लागि आवश्यक समन्वय र सहजीकरणलाई निरन्तरता दिने जनाएको छ।
Share this with your friends: