भदौ २१, काठमाडौं । न्यु क्यालेडोनियाले पहिलोपटक फिफाको महिला विश्वस्तरीय प्रतियोगितामा सहभागिता जनाउँदै इतिहास रच्ने भएको छ। न्यु क्यालेडोनियाको यू–२० महिला टोलीले पोल्यान्डमा आयोजना हुने फिफा यू–२० महिला विश्वकप २०२६ मा प्रतिस्पर्धा गर्नेछ।
ओसियाना फुटबल महासंघ (ओएफसी) का अनुसार यो न्यु क्यालेडोनियाका लागि फिफाको कुनै पनि महिला प्रतियोगितामा पहिलो सहभागिता हो। यसलाई मेलानेसियाली राष्ट्रमा महिला फुटबलको विकासका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
न्यु क्यालेडोनिया सन् २०२५ को ओएफसी यू–१९ महिला च्याम्पियनसिपमा उपविजेता बनेपछि विश्वकपका लागि छनोट भएको हो। फाइनलमा न्युजिल्यान्डसँग ३–० ले पराजित भए पनि उपविजेताका रूपमा टोलीले विश्वकपमा स्थान बनाएको थियो।
पोल्यान्डमा सेप्टेम्बर ५ देखि २७ सम्म सञ्चालन हुने प्रतियोगितामा न्यु क्यालेडोनिया समूह ‘एफ’ मा परेको छ। समूहमा पूर्वविजेता स्पेन, चीन र नाइजेरिया रहेका छन्। स्पेन सन् २०२२ को यू–२० महिला विश्वकप विजेता हो भने नाइजेरिया पनि प्रतियोगितामा बलियो टोलीका रूपमा रहेको छ।
न्यु क्यालेडोनियाको टोलीको नेतृत्व प्रशिक्षक लियोन वेट्रोनीले गर्नेछन्। टोलीले यसअघि अन्तर्राष्ट्रिय अनुभव हासिल गर्न विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ। विश्वकपमा पहिलोपटक सहभागी हुन लागेकाले टोलीका लागि यो प्रतियोगिता अनुभव र महिला फुटबलको विकास दुवै दृष्टिले महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
न्यु क्यालेडोनियाको विश्वकप यात्रा ओसियाना क्षेत्रका लागि पनि विशेष उपलब्धि हो। यस संस्करणमा ओएफसीबाट न्युजिल्यान्ड र न्यु क्यालेडोनिया सहभागी हुँदैछन्। न्युजिल्यान्ड भने लगातार १०औँ पटक यू–२० महिला विश्वकपमा सहभागी हुँदैछ।