असोज २७ , काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा प्रदर्शनको समाचार संकलन गर्ने क्रममा महिला पत्रकारमाथि दुर्व्यवहार र हिरासतमा लिइएको आरोपबारे सर्वोच्च अदालतले चासो व्यक्त गरेको छ। अदालतले घटनाबारे स्पष्टीकरण दिन दिल्ली प्रहरीका वरिष्ठ अधिकारीलाई उपस्थित हुन निर्देशन दिएको छ।
भारतका प्रधानन्यायाधीश सूर्यकान्तले महिला पत्रकारसहित सञ्चारकर्मीमाथि भएको भनिएको दुर्व्यवहार र पक्राउसम्बन्धी आरोपबारे सुनुवाइ गर्दै वरिष्ठ प्रहरी अधिकारीलाई अदालतमा उपस्थित भएर जवाफ दिन भनेका हुन्। अदालतले यस विषयमा अक्टोबर १५ मा सुनुवाइ गर्ने जनाएको छ।
मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध निर्वाचन नामावलीको विशेष सघन पुनरावलोकन प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै दिल्लीमा प्रदर्शन भइरहेका बेला पत्रकारमाथि प्रहरीबाट दुर्व्यवहार भएको आरोप सार्वजनिक भएको हो। प्रदर्शनको समाचार संकलन गरिरहेका पत्रकारहरूले प्रेस परिचयपत्र देखाउँदासमेत नियन्त्रणमा लिइएको र केहीलाई जबर्जस्ती प्रहरी बसमा राखिएको आरोप छ।
निवेदनमा पत्रकारलाई शारीरिक दुर्व्यवहार, धम्की, मनपरी हिरासत र जबर्जस्ती हटाउने कार्यबाट जोगाउन आवश्यक व्यवस्था गर्न माग गरिएको छ।
अदालतको पछिल्लो चासोले सार्वजनिक कार्यक्रम र प्रदर्शनको समाचार संकलन गर्ने पत्रकारको सुरक्षा तथा स्वतन्त्र रूपमा समाचार संकलन गर्न पाउने अधिकारको विषयलाई फेरि चर्चामा ल्याएको छ। घटनासम्बन्धी आरोपबारे प्रहरीको स्पष्टीकरण र अदालतको आगामी सुनुवाइलाई चासोका साथ हेरिएको छ।