भाद्र ३१, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मनोहरा खोलाको बालुवा निकाल्न ‘सेटिङ’ मिलाइदिने भन्दै ठेकेदारसँग घुस लिएको आरोपमा नौ जना प्रहरीलाई नियन्त्रणमा लिएको छ ।
अख्तियारले प्रहरी सहायक निरीक्षक गोपाल श्रेष्ठ र सुवास ढुङ्गाना तथा प्रहरी हवल्दार दीपक भारती, उमेश यादव र अमन चौधरीलाई नियन्त्रणमा लिएको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए। प्रसनी श्रेष्ठले ठेकेदारसँग रु. ३० हजार, प्रसनी ढुङ्गाना र प्रहरी हवल्दार भारतीले रु. ४५ हजार, प्रहरी हवल्दार यादव र चौधरीले रु. पाँच/पाँच हजार घुस लिएको अख्तियारले जनाएको छ ।
त्यस्तै प्रहरी जवान रत्न रिजाल, मानसिंह रोका, दीपेन्द्र कुँवर र मुकेश पटेललाई पनि घुस लिएको आरोपमा अख्तियारले नियन्त्रणमा लिएको छ । प्रहरी जवान रिजाल र रोकाले रु. पाँच हजार र प्रहरी जवान कुँवर र पटेलले ठेकेदारसँग रु. पाँच/पाँच हजार घुस मागेका थिए । उनीहरुलाई बानेश्वरको विभिन्न क्षेत्रबाट अख्तियारले नियन्त्रणमा लिएको हो । आयोगले उनीहरुको साथबाट रु. एक लाख बरामद गरेको छ ।