►सञ्चिता घिमिरे
साउन १८, ललितपुर । भूकम्पले भवन भत्किएर सेवा ठप्प भएको नेपालको पहिलो नेपाल राष्ट्रिय पुस्तकालय अझै सञ्चालन हुन सकेको छैन । भवन नबन्दा पूर्णरुपमा सेवा शुरु गर्न नसकिएको पुस्तकालयले जनाएको छ ।
पुस्तकालयका पुस्तक तीन ठाउँमा रहेको पुस्तकालयका अधिकृत शिवकुमार श्रेष्ठले बताउनुभयो । कालोपुलस्थित महेन्द्र भवन माध्यामिक विद्यालय, सानोथिमिस्थित शैक्षिक जनशक्ति विकास केन्द्र र पुस्तकालयको बाल शाखामा पुस्तक राखिएको छ । विद्यालयमा ५० हजार पुस्तक थन्क्याइएको छ । उहाँले भन्नुभयो, “किताब बिग्रन नपाओस भनेर सुरक्षितरुपमा राखेका छौँ ।”
जनशक्ति विकास केन्द्रमा २३ हजार हाराहारी र बाल शाखामा सात हजार पुस्तक छन् । ती पुस्तक भूकम्प आउँदाको वर्षमा बोरामा नै थन्क्याइएकोमा हाल ¥याकमा राखिएको छ ।
बालशाखा भवन जीर्ण अवस्थामा छ । अधिकृत श्रेष्ठले भन्नुभयो, “वर्षामा पानी चुहिएर हैरान छौँ ।” यहाँका प्रशासनिक काम सञ्चालन र बाँकी पुस्तक व्यवस्थापनमा समेत जीर्ण भवनका कारण कठीन छ ।
भूकम्प पहिले दैनिक १०० बढी पाठक अध्ययन गर्न आउनेमा अहिले १०÷१२ जना आउँछन् । यहाँ आउने कतिपय पाठकले विद्यालयमा वा सानोथिमिमा भएका पुस्तक खोज्न आउँदा फर्काउनुपर्ने अवस्था छ ।
विद्यालयको लामो छुट्टिका समयमा खचाखच विद्यार्थी हुने गरेकामा अहिले पुस्तकालय सुनसान बन्दै गएको छ । देशभरका पुस्तकालयको समन्वय र अनुगमनको कामसमेत पुस्तकालयको दयनीय अवस्थाका कारण प्रभावित बनेको छ । हाल वर्षमा दुई/तीन पुस्तकालयको अनुगमन हुने गर्छ । सरकारले पुस्तकालयका लागि छुट्याउने बजेटसमेत कटौती गरेको छ ।
बाल शाखामा थोरै पुस्तक छ । भएको पुस्तक मिसिएको पाठकले गुनासो गर्छन् । पहिले फरक विषयसम्बन्धी पुस्तक छुट्टाछुट्टै ¥याकमा थियो । अधिकृत श्रेष्ठ भन्नुहुन्छ, “यसले गर्दा पाठकलाई चाहेको पुस्तक सजिलै खोज्न र पढ्न पाउँदैनन् ।” भएका पुस्तकमा समयसमयमा औषधि हालेर बिग्रन दिइएको छैन ।
भूमिगत पार्किङसहित पाँच फरक निकाय रहने गरेर हरिहर भवन निर्माणको खाका बनेको छ । उहाँ भन्नुहुन्छ, “नक्सा बनेको लामो समय हुँदासमेत भत्काउन थालिएको छैन ।” अस्थायी टहरामा पुस्तकालय सार्न बाल शाखा अगाडिको आयोगको जग्गा मागिएको छ ।