भाद्र ११, तुलसीपुर । लमही नगरपालिकाले बाढीपीडितको लागि नयाँ घर निर्माण गरेको छ । लमही– ९ अमेलियाका बाढीपीडितलाई नगरपालिकाले आवास निर्माण गरी हस्तान्तरण गरेको हो ।
विसं २०७४ साउन २७ गते बाढीले अमेलियाका २२ घर पूर्णरुपमा बस्न नमिल्ने गरी भत्काएपछि स्थानीय तहले सो बस्तीको पुनःनिर्माण अभियान सञ्चालन गरेका थियो ।
एक वर्षपछि नयाँ घर पाउदा अमेलियाका बाढीपिडित खुशी भएका छन् । घरवारविहीन बनेकी पुनकला भुसाल घरधनीको रुपमा नयाँ घरमा पुनःस्थापित भएकीछन्। मोहन डाँगीले स्थानीय तहको सहयोगमा नयाँ घरमा बस्न पाएकोमा खुशी व्यक्त गरे।
नगरपालिकाले सुरक्षित जग्गा खोजेर पक्की घर निर्माण गरिदिएपछि २२ घरपरिवार पुनःस्थापित भएका हुन् । नगरपालिकाले पूर्ण क्षति भएका परिवारलाई प्रतिपरिवार घर निर्माण गर्न रु. दुई लाख सहयोग गरेको थियोे । नगरपालिकाको सहयोग र स्थानीयवासीको सक्रियतामा भान्सा र शौचालय सहितको नयाँ घर बनाइएको हो ।
पीडितलाई स्थानीय सरकारको अनुभूति हुने गरी राष्ट्रिय वनको खाली जमीनमा १० र व्यक्तिकै जग्गामा १२ घर बनाएर बसोवासको व्यवस्था गरिएको नगर प्रमुख कुलबहादुर केसीले बताए । मैनेमा चार, तेल्लेमा तीन, रिहारमा छ, हात्तीखाल, अमेलिया र वाङ्तालमा नौ घर निर्माण गरिएको छ ।