साउन १९ , काठमाडौं । सरकारले दुर्गम तथा जोखिमयुक्त क्षेत्रमा रहेका १०३ गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जटिल अवस्थामा रहेका गर्भवती र सुत्केरी महिलालाई समयमै उपचार उपलब्ध गराउन हवाई उद्धार सेवा सञ्चालन गरिएको हो। भौगोलिक विकटता र यातायातको अभावका कारण जोखिममा परेका महिलालाई उद्धार गरी नजिकका सुविधा सम्पन्न अस्पतालमा पुर्याइएको मन्त्रालयले जनाएको छ।
उद्धार गरिएका महिलामध्ये धेरैजसो उच्च रक्तचाप, अत्यधिक रक्तस्राव, प्रसूति जटिलता तथा आकस्मिक अवस्थाबाट प्रभावित रहेको जनाइएको छ। समयमै उपचार नपाए ज्यान जोखिममा पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै तत्काल उद्धार गरिएको हो।
सरकारले दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको ज्यान बचाउन यस्तो सेवा निरन्तर सञ्चालन गर्दै आएको छ। यस कार्यक्रमले मातृ मृत्युदर घटाउन महत्वपूर्ण भूमिका खेलेको स्वास्थ्यकर्मीहरूको भनाइ छ।
मन्त्रालयले आवश्यकताअनुसार आगामी दिनमा समेत हवाई उद्धार सेवा विस्तार गर्दै लैजाने योजना रहेको जनाएको छ।