भदौ १० , काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले गरेका पछिल्ला कर्मचारी सरुवाका निर्णय विवादमा परेका छन्। सुरुमा “जसको दरबन्दी जहाँ छ, त्यहीँ पठाउने” प्रतिबद्धता जनाएकी मेहताले अहिले भने दरबन्दीभन्दा बाहिरका कर्मचारीलाई महत्वपूर्ण जिम्मेवारी दिएको भन्दै आलोचना भएको हो।
स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाको निर्देशकमा वीर अस्पतालमा दरबन्दी रहेका फरेन्सिक मेडिसिन विशेषज्ञ डा। वीरेन्द्रकुमार मण्डललाई काजमा सरुवा गरिएको छ। उक्त महाशाखा स्वास्थ्य उपकरण तथा सामग्री खरिदसँग प्रत्यक्ष जोडिएको छ।
त्यस्तै, आपूर्ति व्यवस्थापन शाखा (खरिद शाखा) प्रमुखमा दया पन्तलाई पठाइएको छ। खरिद प्रक्रियासँग सम्बन्धित विवादमा नाम जोडिएका पन्तको पुनः जिम्मेवारीले पनि प्रश्न उठाएको छ।
चालु आर्थिक वर्षमा आधारभूत अस्पतालका उपकरण तथा सामग्री खरिदका लागि करिब एक अर्ब रुपैयाँ बजेट रहेकाले यी सरुवालाई अर्थपूर्ण रूपमा हेरिएको छ।
यसअघि परिवार कल्याण महाशाखाको निर्देशकमा पनि तोकिएको समूहभन्दा फरक अर्थोपेडिक सर्जन डा। ओम अर्याललाई जिम्मेवारी दिइएको थियो। यसले मन्त्री मेहताको ‘दरबन्दीअनुसार कर्मचारी व्यवस्थापन’ गर्ने दाबी र पछिल्ला निर्णयबीच विरोधाभास देखिएको भन्दै आलोचना बढेको छ।