भदौ ११, काठमाडौं । इण्डोनेसियमा जारी १८औँ एशियाली खेलकूदअन्तर्गत भारोत्तोलनको महिला ७५ केजीमा नेपालकी तारादेवी पुनले आज तीन वटा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।
बाह्रौँ दक्षिण एशियाली खेलकूद ९साग० की कांस्य विजेता ताराले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्ने क्रममा स्न्याचमा ७४ केजी, क्लिन एन्ड जर्कमा १०१ केजी र कूलमा १७५ केजीको भारवहन गरिन् ।
यसअघि स्न्याचमा ताराको नाममा ७३ केजीको कीर्तिमान थियो । ताराले स्न्याचमा तेस्रो लिफ्टमा कीर्तिमान रचेकी हुन् । पहिलो लिफ्टमा ७० केजी उठाएकी तारा दोस्रो लिफ्टमा ७४ केजी भार वहन असफल रहिन् । तेस्रो लिफ्टमा मात्र तारा ७४ केजी वजन उचाल्न सफल भएकी थिइन् ।
क्लिन एन्ड जर्कमा ९७ केजी र कूलमा १७० केजीको कीर्तिमान पनि ताराकै नाममा थियो । तीनै कीर्तिमान ताराले नेपालगञ्जमा गत जेठमा भएको एशियाली खेलकूदको छनोटमा राखेकी थिइन् । क्लिन एण्ड जर्कमा ताराले तीन लिफ्टमा क्रमशः ९३ केजी, ९८ केजी र १०१ केजी भारवहन गरेकी थिइन् । ताराले दोस्रो लिफ्टमै आफ्नो ९७ केजीको कीर्तिमानमा सुधार गरिसकेकी थिइन् ।
भारोत्तोलनमा नेपालको प्रतिस्पर्धा सकिएको छ । तारासहित चार खेलाडीले भारोत्तोलनमा प्रतिस्पर्धा गरेका थिए । त्यसमा सञ्जु चौधरी र कमलबहादुर अधिकारीले पनि राष्ट्रिय कीर्तिमान बनाए भने विकास थापा राष्ट्रिय कीर्तिमान बनाउन असफल भएको राष्ट्रिय खेलकूद परिषद् ९राखेप०ले जनाएको छ ।
प्लाराग्लाइडिङ
प्याराग्लाइडिङको टोली क्रस कन्ट्री इभेन्टको दोस्रो चरण सकिँदा नेपाली पुरुष टोली तेस्रो स्थानमा रहेको छ । नेपाली टोलीले दोस्रो चरणसम्म दुई हजार ९४९ अंक जोडेको छ । नेपाली टोलीबाट विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापाले खेलिरहेका छन् । तीन हजार ८१८ अङ्क जोडेर इण्डोनेसिया शीर्ष स्थानमा छ ।
दोस्रो स्थानमा रहेको दक्षिण कोरियाको तीन हजार १३९ अङ्क छ । दुई हजार ७७५ अङ्क जोडेर चौथो स्थानमा रहेको जापानले नेपाललाई पछ्याइरहेको छ । महिलातर्फ दोस्रो चरणको खेल सकिँदा नेपाली टोली पाँचौँ स्थानमा झरेको छ । अघिल्लो दिन नेपाली महिला टोली चौथो स्थानमा थियो ।
नेपाली महिला टोलीले अहिलेसम्म ६३८ अङ्क जोडेको छ । नेपाली टोलीमा प्रतिभा भुजेल, त्रिसा श्रेष्ठ बम्जन तामाङ र सविता तामाङ छन् । यो इभेन्टमा दक्षिण कोरिया पहिलो, जापान दोस्रो, इण्डोनेसिया तेस्रो र थाइल्याण्ड चौथोमा छन् ।