Advertisement
Advertisement
Advertisement
Advertisement

जनयुद्धका कलाकार भूमिका थापा बनिन् सफल उद्यमी

  |      16:12:00   |  
वेब तस्विर
वेब तस्विर

साउन २४, रोल्पा ।  जलजला सांस्कृतिक परिवारले प्रदर्शन गर्ने सांस्कृतिक कार्यक्रम हेर्न भूमिका थापा साथीहरुसँग घरबाट भागेर सदरमुकाम जान्थिन् । 

 

विसं २०५२ फागुनमा तत्कालीन नेकपा माओवादीद्वारा जनयुद्धको घोषणा भएपछि सांस्कृतिक परिवारका कलाकार पनि भूमिगत भए । तत्कालीन सरकारले खुला रुपमा सांस्कृतिक कार्यक्रम देखाउन प्रतिबन्ध लगायो । सुरक्षा निकायको आँखा छलेर सदरमुकाम टाढाका बस्तीमा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने कुरा उनी सुन्थिन् । गीतसङ्गीतप्रति निकै रुचि भएकी उनी कलाकार बनेरै छाड्ने निश्चयका साथ १५ वषको उमेर नपुग्दै २०५५ सालमा पूर्णकालीन् भइन् ।


 
सांस्कृतिक कार्यक्रममार्फत जनताका घरघरमा समानता, न्याय र परिवर्तनका पक्षमा क्रान्तिकारी गीत गुञ्जाउने उनको टोलीलाई जिम्मा थियो । त्यसकै लागि उनी अविराम खटिरहिन् । विसं २०६१ मा जनवादी अन्तरजातीय विवाह गरेकी उनले २०६२ सालमा छोरी जन्मिएपछि छ वर्षदेखि निरन्तर खट्दै आएको सांस्कृतिक मोर्चाबाट बिदा लिनुपर्ने भयो । उनले केही समय विश्राम गर्न पाउने भइन् ।


 
विसं २०६२/६३ को आन्दोलनपछि देशमा आएको लोकतन्त्रसंँगै माओवादी पनि दश वर्ष लामो युद्ध विश्राम गरी शान्ति प्रक्रियामा आउन राजी भयो । पार्टीले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि अन्य नेताकार्यकर्ताझैँ उनी पनि सात वर्ष लामो भूमिगत जीवनको अन्त्य गर्दै सामान्य जीवन बिताउन सदरमुकाम लिवाङस्थित घरमा श्रीमान् र छोरीसँग आइन् । उनले राजनीतिकर्मीका साथै गृहिणीका रुपमा समेत भूमिका पाइन् । 

 

शान्ति प्रक्रियापछि पार्टीका सवै संरचना खुला भए । उनलाई महिला मोर्चामा काम गर्ने गरी पार्टीले जिम्मेवारी दियो । भूमिगत अवस्थामा राजनीति नै उनको मुख्य काम हुन्थ्यो, संगठन निर्माण, प्रशिक्षणलगायत काममा समय बिते पनि शान्ति प्रक्रियासँगै ती काम पनि पातलिँदै जान थाले । बेरोजगार बन्न पुगेका नेताकार्यकर्ता रोजगारीका विभिन्न विकल्प खोज्न थाले । उनले पनि सिलाइकटाइ सिक्ने सोच गरिन् ।

 

 तीन महिना सिलाइकटाइ सिकेर उनले घरेलु उद्योग स्थापना गर्ने सोचका साथ घरेलु विकास समिति, मेडेप, तत्कालीन जिल्ला विकास समितिलगायत संस्था तथा कार्यालयसँग परामर्श गरिन् । सबैको सहयोगले उनीलगायत ११ जनाको शेयर रहने गरी घरेलु उद्योग दर्ता भयो । 

 

शुरु शुरुमा उद्योगले झोला, पछ्यौरा र अल्लोको कपडा उत्पादन गरेर बिक्री गर्थ्यो। जिल्लाभर झोलाको राम्रो बजार भएका कारण आम्दानी पनि राम्रो थियो । पछिल्ला दिनमा झोला बुन्ने उद्योग गाउँगाउँमा स्थापना भएसँगै झोलाको बजार घट्दै गएको उनको भनाइ छ । रोल्पाको आफ्नै उत्पादन अल्लोेलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित अहिले उनको उद्योगले अल्लोको कपडा तयार गर्न थालेको छ । 

 

जिल्ला बाहिरवाट रोल्पा आउने पाहुनाहरु अल्लोका सामान किन्न उनको उद्योगमा पुग्ने गर्छन् । निजामती कर्मचारी, सेना र प्रहरीमा समेत अल्लोबाट निर्मित कोट, इष्टकोट तथा टोपी प्रयोग गर्ने प्रवृत्ति बढेसँगै अल्लोको मागसमेत बढेको थापाले बताइन् । 


जिल्लाका स्थानीय तहले समेत स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने भन्दै अल्लोबाट निर्मित पोशाकलाई औपचारिक पोशाक बनाउने निर्णय गरेका छन् । “रोल्पा नगरपालिका र सुनछहरी गाउँपालिकाले उक्त निर्णय गरेर पोशाक तयारीसमेत गरिसकेका छन्”, थापाले भनिन्, “पुरुष जनप्रतिनिधिका लागि अल्लोको कोट र महिला प्रतिनिधिका लागि अल्लोको कोट तथा स्थानीय उद्योगबाट निर्मित ऊलनी कपडाको साडी तयार गरी दिएका छौँ ।” जिल्लाका अन्य स्थानीय तहवाट समेत अर्डर आउने क्रम चलिरहेको जानकारी उनले दिइन् । 

 

जिल्लाका धवाङ, ह्वामा, गाम, सेरमलगायत स्थानबाट अल्लोको धागो आपूर्ति गर्ने गरेको उनले बताइन् । “कहिलेकाहीँ कमसल धागो आउँदा उत्पादन नै नराम्रो हुन्छ”, थापाले भनिन् । 
 

 

उनीसँगै नौ महिलाले उद्योगमा काम गर्छन् । जनयुद्धमा सहभागी भई ज्यान गुमाएकाहरुको परिवार, एकल महिलासमेत मिलेर उद्योग सञ्चालन भएको छ । “उद्योगमा अधिकांश जनयुद्धबाट प्रभावितहरु छौँ”, थापाले भनिन् । 

 

हरेक सदस्यले मासिक रु १५ हजारदेखि रु २० हजारसम्म आम्दानी गर्दै आएको थापाको भनाइ छ । परिवारको पालनपोषण, बालबालिकाको पढाइ र औषधोपचारका लागि सहयोग भइरहेको उनले बताइन् । 

 

उनले विभिन्न पुरस्कार तथा सम्मानसमेत प्राप्त गरेकी छन् । उनलाई घरेलु तथा साना उद्योग विकास समिति रोल्पा, राष्ट्रिय युवा परिषद्बाट ४० वर्षमुनिका युवा उद्यमीलाई गरिने सम्मान र उद्योग मन्त्रालयबाट सम्मान मिलेको छ ।
 

उद्योगको निरन्तरता र दिगोपना मुख्य चुनौती रहँदै आएको उनको भनाइ छ । विगतमा घरेलु तथा साना उद्योग विकास समितिको प्राविधिक सहयोग तथा मेडेप र जिविसको आर्थिक सहयोग हुँदा यन्त्र र औजार खरीदमा सहजता हँुदै आएको थियो । स्थानीय तहको गठनसँंगै यी संरचनामा देखिएको अस्तव्यस्ताताले आफूहरुलाई पनि प्रभाव पारेको उनको भनाइ छ । आधुनिक प्रविधि र यन्त्र– औजारविना प्रतिस्पर्धाको बजारमा टिक्न गाह्रो हुने भएकाले यसतर्फ स्थानीय सरकारहरुले सहयोग गर्ने उनको अपेक्षा छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement