असोज ११, विराटनगर । प्रदेश नं १ प्रदेशसभाको आजको बैठकले घरेलु हिंसा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ सर्वसम्मतिले पारित गरेको छ ।
प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम सामाजिक विकासमन्त्री जीवन घिमिरेले सो विधेयक पारित गरियोस् भनी सभामा पेश गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
यसअघि सो विधेयकमाथिको छलफल भाग लिँदै प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले घरेलु हिंसा सम्बन्धमा बनेको विधेयकले समाजमा घरेलु हिंसा कम हुने र यसबाट असल समाज निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सामाजिक विकासमन्त्री जीवन घिमिरेले छलफलबाट आएका सुझाव विधेयकलाई पूर्णता दिन सहयोग पुगेकोमा खुशी व्यक्त गर्नुभयो ।
उहाँले विधेयकको गहनतालाई लिएर यसको दफावार छलफलमा सुझाव दिई सहमति प्रदान गरेकोमा सदस्यलाई धन्यवाद दिनुभयो ।
प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम घरेलु हिंसाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ को दफा १ देखि १६६ सम्म विधेयकको अङ्ग बनोस् भनी सभामुख प्रदीपकुमार भण्डारीले प्रस्तुत गर्नुभएको प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको छ ।
यस्तै, प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १०३ बमोजिम सो विधेयकको प्रस्तावना, नाम र प्रारम्भ विधेयकको अङ्ग बनोस् भनी सभामुख भण्डारीले निर्णयार्थ प्रस्तुत गर्दा सभाले सर्वसम्मतिले पारित गरेको छ ।