web image
साउन २४ ,काठमाडौं । विश्व नम्बर एक आर्यना साबालेन्का क्यानडियन ओपन टेनिसमा अप्रत्याशित रूपमा पराजित भएकी छन्। उनी रसियाकी एकाटेरिना अलेक्जान्ड्रोभासँग चौथो चरणमा ७–६(३), ४–६, ६–४ ले हार्दै प्रतियोगिताबाट बाहिरिएकी हुन्।
करिब दुई घण्टा ३० मिनेटसम्म चलेको प्रतिस्पर्धात्मक खेलमा १६औँ वरीयताकी एलेक्सान्द्रोभाले उत्कृष्ट प्रदर्शन गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरिन्।
चार पटककी ग्रान्ड स्लाम विजेता तथा यूएस ओपनकी साबिक च्याम्पियन साबालेन्काले पहिलो सेट गुमाएपछि दोस्रो सेटमा पुनरागमन गर्दै खेल बराबरी गरेकी थिइन्। उनले दोस्रो सेटमा महत्त्वपूर्ण ब्रेक लिँदै खेललाई निर्णायक सेटमा पुर्याइन्।
तर अन्तिम सेटमा भने एलेक्सान्द्रोभाको आक्रामक खेल अगाडि साबालेन्का कमजोर देखिइन्। खेलको अन्त्यतिर त्रुटि बढ्दा उनले ४–५ मा सर्भ गर्दा दुईवटा म्याच प्वाइन्ट जोगाए पनि तेस्रोमा डबल फल्ट गर्दै खेल गुमाइन्।
खेलपछि एलेक्सान्द्रोभाले प्रत्येक अंकलाई अन्तिम अवसरझैँ खेलेको बताइन्। उनले स्कोरबारे धेरै नसोची केवल बल प्रहारमा ध्यान दिएको र जित हासिल गर्न पाउँदा निकै खुशी लागेको प्रतिक्रिया दिइन्।
अब एलेक्सान्द्रोभाले सेमिफाइनल प्रवेशका लागि युक्रेनकी एलिना स्विटोलिनासँग प्रतिस्पर्धा गर्नेछिन्। स्वितोलिनाले अमेरिकाकी अमान्डा अनिसिमोवालाई ६–२, ६–४ ले हराउँदै अघिल्लो चरणमा स्थान बनाएकी हुन्।
Share this with your friends: