भदौ ४ , काठमाडौं । नेपालको टेनिस टोली २०औँ एसियाली खेलकुदको तयारीका लागि बिहीबार भारतको बेंगलुरु प्रस्थान गरेको छ।
तीन खेलाडीसहित चार सदस्यीय टोलीले बेंगलुरुस्थित रोहन बोपन्ना टेनिस एकेडेमीमा विदेशी प्रशिक्षण लिनेछ। टोलीमा प्रदीप खड्का, निशान श्रेष्ठ र स्वस्तिका बिष्ट खेलाडीका रूपमा छन् भने रेनु देवी कोन्डा प्रशिक्षकका रूपमा सहभागी छन्।
प्रशिक्षणपछि टोली सेप्टेम्बर ८ मा नेपाल फर्किनेछ। एसियाली खेलकुदका लागि छनोट भएका अभिषेक बास्तोला र शिवाली गुरुङ भने हाल विदेशमै छुट्टै प्रशिक्षण गरिरहेका नेपाल टेनिस संघले जनाएको छ।
टोलीलाई बुधबार आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्यसचिव रामचरित्र मेहता, कार्यकारी समिति सदस्य सिक्का सुवाल श्रेष्ठ तथा नेपाल टेनिस संघका अध्यक्ष मनोहरदत्त मल्ललगायतले बिदाइ गरेका थिए।
२०औँ एसियाली खेलकुद जापानमा आयोजना हुँदैछ। नेपाली टेनिस टोलीले प्रतियोगिताअघि भारतमा गर्ने प्रशिक्षणलाई आफ्नो तयारीको महत्वपूर्ण चरणका रूपमा लिएको छ।