साउन २१ , काठमाडौं । जापानको आइचीरनागोयामा आयोजना हुने २०औं एसियाली खेलकुदमा नेपालले २२ खेलमा १३६ खेलाडी सहभागी गराउने भएको छ। राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतको खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलका अनुसार टोलीमा ८० पुरुष र ५६ महिला खेलाडी रहेका छन् भने ३२ प्रशिक्षकसमेत सहभागी हुनेछन्।
यसपटक आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, क्रिकेट, जुडो, कबड्डी, कराते, टेबलटेनिस, टेनिस, भलिबल, रेस्लिङ, वुसु लगायतका २२ विधामा नेपालले प्रतिस्पर्धा गर्नेछ। क्रिकेटमा सबैभन्दा धेरै १५ पुरुष खेलाडी सहभागी हुनेछन् भने कबड्डीमा १२–१२ पुरुषरमहिला खेलाडी समावेश छन्।
त्यसैगरी भलिबलमा १२ महिला खेलाडी, वुसुमा ११, एथलेटिक्स, कराते, टेनिस, पौडी लगायतका खेलमा पनि नेपालले प्रतिनिधित्व गर्नेछ। केही खेलमा भने सीमित संख्यामा खेलाडी सहभागी गराइएको छ।
यसअघिको चीनको हाङ्झाउमा सम्पन्न १९औं एसियाली खेलकुदमा नेपालबाट २९ खेलमा २५३ खेलाडी सहभागी भएका थिए, जसमा १२६ पुरुष र १२७ महिला थिए। उक्त प्रतियोगितामा नेपालले १ रजत र १ कांस्य पदक जितेको थियो। करातेकी एरिका गुरुङले रजत जितेकी थिइन् भने महिला कबड्डी टोलीले कांस्य पदक हासिल गरेको थियो।
आगामी एसियाली खेलकुद असोज ३ गतेदेखि सुरु हुने तय भएको छ।