वैशाख ७ , काठमाडौं । अठारौं राष्ट्रिय जुडो प्रतियोगिताको पहिलो दिन बुधबार एकै परिवारका ३ खेलाडीले स्वर्ण पदक जितेका छन् । दाइ इन्द्रबहादुर श्रेष्ठका साथै उनका बहिनी निशा र देवकीले स्वर्ण जितेका हुन् ।
नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ६६ केजीमुनि नेपाल प्रहरी क्लबका इन्द्रले लुम्बिनी प्रदेशका मनीष आलेलाई फाइनलमा पराजित गरे । फाइनल जित्न इन्द्रलाई मात्र १६ सेकेन्ड समय लाग्यो । चार मिनेटको पूरा खेलमा इन्द्रले इप्पोनका आधारमा प्रतिद्वन्द्वी मनीषलाई १६ सेकेन्डमै हराएका थिए । नेपाल आर्मीका किरण भट्टराई तथा बागमती प्रदेशका प्रवीण पाण्डे तेस्रो भए ।
नयाँबजारस्थित बहुउद्देश्यीय मार्शल आर्ट्स केन्द्रमा भएको महिला ४८ केजी मुनि फाइनलमा बागमतीकी निशाले एपीएफ क्लबकी रत्ना तामाङलाई हराइन् । लुम्बिनीकी प्रतीक्षा केसी तथा कर्णाली प्रदेशकी सकुन सुनुवार तेस्रो बने ।
५२ केजी मुनिको स्वर्ण भिडन्तमा बागमतीकी देवकीले आर्मीकी रोशना डंगाललाई पाखा लगाइन् ।
कर्णालीकी अनिता बुढा तथा प्रहरीकी प्रतिभा पुलामी मगर तेस्रो स्थानमा रहे । इन्द्र, निशा र देवकी बन्दी सहायता नियोग ९पाम० का उत्पादन हुन् ।
महिला ५७ केजी मुनि आर्मीकी सिमाकुमारी चिडीले फाइनलमा एपीएफकी सुनिता थिङलाई पन्छ्याउदै स्वर्ण चुमिन् । बागमतीकी अन्जु पाण्डे तथा कर्णालीकी पेमा याङ्गी शेर्पाले कांस्य हात पारे ।
६३ केजी मुनि प्रहरीकी दिलकुमारी छन्त्यालले बाजी मारिन् । दिलकुमारीले फाइनलमा आर्मीकी लीला अधिकारीको चुनौती पन्छाइन् । कर्णालीकी बन्दना कुलुङ तथा लुम्बिनीकी निर्मल कुँवर तेस्रो भए ।
पुरुष ६० केजी मुनि कर्णालीका प्रवीणकुमार दियालीले शीर्ष स्थान कब्जा गरे । उनले फाइनलमा लुम्बिनीका विकास विकलाई पाखा लगाए । लुम्बिनीकै काशिराम महत तथा आर्मीका दिपक रास्कोटीले तेस्रो स्थानमा चित्त बुझाए ।
७३ केजी मुनि एपीएफका प्रमोद मण्डलले फाइनलमा बागमतीका सुनिल नगरकोटीमाथि जित रचे । लुम्बिनीका आयुश साहवत तथा बागमतीका राजु शर्मा भदाइ तेस्रो भए ।
प्रतियोगिताको राखेपका सदस्य सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उदघाटन गरेका थिए । पुरुष÷महिलामा समान ७–७ गरी १४ स्पर्धा समावेश प्रतियोगिताको पहिलो दिन ७ स्वर्णको छिनोफानो भएको छ । विजेतालाई सदस्य सचिव घिसिङ, राखेपका सदस्य अन्जन धमला लगायतले पुरस्कृत गरे । प्रतियोगिताको अन्तिम दिन बिहीबार बाँकी ७ स्पर्धाको फाइनल हुनेछ ।
यसै प्रतियोगिताबाट चीनमा हुने १९ औं एसियाली खेलकुदका लागि खेलाडीको प्रारम्भिक छनोट गरिने जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जनाएका छन् । उनका अनुसार प्रत्येक तौल समूहबाट ४ खेलाडी प्रारम्भिक चरणमा छनोट हुनेछन् । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका ६४ पुरुष र ५२ महिला गरी ११६ खेलाडी सहभागी छन् ।