-पार्वती पाण्डे
फागुन १२, कपिलवस्तु । कपिलवस्तुको वाणगंगा ४ झुंगामा २६ वर्षीया महिलाको हत्या हुँदा छोरा छोरीको बिचल्ली भएको छ ।दुई सन्तानकी आमा अनिता पौडेलको शुक्रबार राती हत्या भएको थियो । त्यही दिन उनको छोराको जन्मदिन थियो । प्रहरीको प्रारम्भिक अनुमान अनुसार जन्मदिन मनाउन आएका पाहुनाले उनको हत्या गरेका हुन् ।
कञ्चटमा गोली हानेर हत्या गरिएको जस्तै देखिएपनि कुनै सबुत फेला नपरेको प्रहरीको भनाई छ । भान्सामा मासु सहितको खाना तयार भएर खाने चरणमा घटना भएको जस्तो वस्तु स्थितीले देखाएको प्रत्यक्षदर्शीको भनाइ छ ।कपिलवस्तुका प्रहरी उपरीक्षक अच्युतप्रसाद पुडासैनीले बर्थ डे मनाउने भन्दै आएका व्यक्तिले दिएको केक खाएपछि बच्चाबच्ची बेहोस भएको खुल्न आएको बताए ।
बिहानपख मात्र होस खुलेका मृतकका छोराले बुटवलका अंकलहरु आएको भन्ने जानकारी दिएकाले चिनजानकै मानिसबाट हत्या भएको प्रहरीले अनुमान गरेको हो ।मृतक पौडेलका ८ र ९ वर्षका छोरा र छोरी छन् । पौडेलले गजेडहाको एक विद्यालयमा कार्यलय सहयोगीको रुपमा काम गर्दै आएकी थिइन ।मृतक पौडेलका श्रीमान विष्णु पौडेल भारतमा छन् । करिव ७ वर्षदेखि श्रीमान् श्रीमतीबीच टकरावपूर्ण सम्बन्धका कारण पौडेलले जिल्ला अदालतमा अंशमुद्धा हालेकी थिइन् ।
१-२ दिन अघिमात्रै अदालतवाट अंशमुद्धा अन्तिम किनारा लाग्ने आसयको पत्र मृतकले पाएको र सोही पत्रकोबारेमा भारतमा रहेका श्रीमानलाई परिवारकै सदस्यले जानकारी गराएको समेत खुल्न आएको प्रहरीको भनाइ छ ।आमाको हत्या भएसँगै दुई छोरा छोरीको बिचल्ली भएको छ । अनितालाई दुःख दिने श्रीमान सहित अन्य घरपरिवारका सदस्य भारत छन् । यहाँ बालबालिकाको हेरचाह गर्ने पनि कोही छैनन् ।
स्रोत : महिला खबर