भाद्र २९, ओखलढुङ्गा । जिल्ला जनस्वास्थ्य कार्यालय रुम्जाटारको तथ्याङ्कअनुसार अझै प्रत्येक वर्ष पाँचदेखि १० प्रतिशत महिला घरैमा सुत्केरी हुने गरेका छन् ।
तीन वर्षयता सय प्रतिशत गर्भवतीमध्ये ८५ प्रतिशतले मात्र सूचीकृत स्वास्थ्य संस्थामा सुत्केरी गराएका छन् । बाँकी १५ प्रतिशत गर्भवतीले आ आफ्ना घरमा जोखिमपूर्ण तरिकाले बच्चा जन्माएका छन् । कार्यालयका अनुसार आर्थिक वर्ष २०७२/७३ मा एक हजार ८१५ जना स्वास्थ्य संस्थामा सुत्केरी हुँदा १३९ जनाले घरैमा बच्चा जन्माएका छन् ।
आर्थिक वर्ष २०७३/७४ मा एक हजार ९४२ जना स्वास्थ्य संस्थामा र १२२ जना घरैमा सुत्केरी भएको तथ्याङ्क रहेको जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदीले जानकारी दिए। उनका अनुसार गत आर्थिक वर्ष २०७४/७५ मा एक हजार २५७ जनाले स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिएकोमा १२० भन्दा बढीले घरैमा बच्चा जन्माएका छन् ।
जिल्लाभरका स्वास्थ्य संस्थाले सङ्कलन गरेको तथ्याङ्कले सुरक्षित सुत्केरी गराउनेमा बढी शहर बजारका महिला रहेको देखाएको छ । अधिकांश ग्रामीण भेगका महिलाले घरमै बच्चा जन्माउने गरेका छन् ।