भदौ २३, काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित व्यक्ति तथा परिवारलाई लक्षित गरी सामाजिक सञ्जालमा अपमानजनक र घृणाजन्य टिप्पणी गर्नेहरूमाथि नेपाल प्रहरीले अनुसन्धान थालेको छ।
नेपाल प्रहरीको साइबर ब्युरोले त्यस्ता सामाजिक सञ्जाल प्रयोगकर्ताको पहिचान गर्न १० सदस्यीय अनुसन्धान टोली गठन गरेको हो। लक्षित व्यक्तिले औपचारिक उजुरी नदिए पनि सामाजिक सञ्जालमा सार्वजनिक भएका सामग्रीका आधारमा ब्युरोले अनुसन्धान अघि बढाएको जनाएको छ।
गत अगस्ट २६ मा भोटेकोसीमा आएको बाढीपछि बेपत्ता आफन्तको खोजीका लागि परिवारका सदस्यहरूले सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेका थिए। तर, त्यस्ता पोस्टमा केही प्रयोगकर्ताले पीडित परिवारलाई होच्याउने, गाली गर्ने तथा संवेदनाहीन टिप्पणी गरेपछि त्यसविरुद्ध सामाजिक सञ्जालमै विरोध भएको थियो।
प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार सामाजिक सञ्जालमार्फत विपद्को पीडामा रहेका व्यक्तिलाई जिस्क्याउने, अपमान गर्ने वा थप पीडा दिने गतिविधिमा संलग्नलाई कारबाही गरिने चेतावनी दिएका थिए। त्यसपछि साइबर ब्युरोले अनुसन्धान अघि बढाएको हो।
साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार अनुसन्धान टोलीले आपत्तिजनक टिप्पणी गर्ने प्रयोगकर्ताका सामाजिक सञ्जाल प्रोफाइल अध्ययन गरिरहेको छ। उनीहरूको ठेगाना र फोन नम्बरसमेत पहिचान गर्ने काम भइरहेको उनले बताए।
गिरीका अनुसार बाढीपीडितलाई थप मानसिक पीडा दिने किसिमका गतिविधिलाई निरुत्साहित गर्न आवश्यक रहेकाले दोषी देखिएकामाथि कानुनी कारबाही अघि बढाइनेछ।
प्रधानमन्त्रीको चेतावनीपछि पनि सामाजिक सञ्जालमा पीडितमाथिको दुर्व्यवहार रोकिएको छैन। आइतबार ‘लिडर नेपाल’ नामक फेसबुक पेजले एक महिलाले आफ्ना पति तथा आफन्तको खोजीका लागि सहयोग माग्दै गरेको भिडियो सार्वजनिक गरेको थियो। ती महिलाले आफ्ना दुई सन्तानको भविष्य सुरक्षित गरिदिन सरकारसँग आग्रह गरेकी थिइन्। उक्त भिडियोमा समेत केही प्रयोगकर्ताले महिलालाई लक्षित गर्दै अपमानजनक टिप्पणी गरेका थिए।
नेपालको विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ ले विद्युतीय माध्यमबाट घृणा वा द्वेष फैलाउने, सामाजिक तथा सामुदायिक सम्बन्धमा खलल पुर्याउने तथा व्यक्तिलाई हैरानी, अपमान वा अश्लील व्यवहार गर्ने सामग्री प्रकाशन वा प्रदर्शन गर्न निषेध गरेको छ। दोषी ठहरिएमा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ।
समाजशास्त्री मीना पौडेलले सामाजिक सञ्जालमा देखिएको यस्तो आक्रामकता समाजमा रहेको शक्ति र पहुँचको असमानतासँग समेत जोडिएको बताएकी छन्। विशेषगरी महिला, मधेसी तथा दुर्गम क्षेत्रका मानिसलाई लक्षित गरेर हुने अपमानले उनीहरूलाई थप जोखिममा पार्ने उनको भनाइ छ।
यसैबीच, भोटेकोसी बाढीको विषयमा जातीय तनाव बढाउन सक्ने टिप्पणी गरेको आरोपमा साइबर ब्युरोले बैतडीका वीरेन्द्र मडईलाई काठमाडौंमा पक्राउ गरेको छ।
प्रहरीका अनुसार सामाजिक सञ्जालमा गरिएको आपत्तिजनक टिप्पणीबारे अनुसन्धान अघि बढाउन पीडित पक्षबाट औपचारिक उजुरी नै आवश्यक नपर्न सक्छ। पर्याप्त प्रमाण संकलन भए प्रहरीले आफैं अनुसन्धान गरी कानुनी प्रक्रिया अघि बढाउन सक्ने ब्युरोका प्रवक्ता गिरीले बताएका छन्।
Share this with your friends: