web image
भदौ २, काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गर्दै सुनका सिक्री लुट्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साउन १ गते उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा मोटरसाइकल चालक भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ का ३२ वर्षीय योगेन्द्र तामाङ र सिक्री तान्ने कार्यमा संलग्न रामेछापको दोरम्बा गाउँपालिका–२ का ३६ वर्षीय काले भनिने देवेन्द्र थापा मगर रहेका छन्।
यस्तै, लुटिएको सुन खरिद गर्ने भोजपुरकै रामप्रसाद राई गाउँपालिका–६ का ४० वर्षीय मिलन विक र भारतको पश्चिम बंगाल, कोलकाताका ४० वर्षीय सञ्जित सामन्तलाई पनि प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार साउन २६ गते भक्तपुरको मध्यपुर थिमी–१ स्थित बिगमार्ट नजिक र साउन ३१ गते लोकन्थली हनुमानचोक क्षेत्रमा एक्लै हिँडिरहेका महिला तथा ज्येष्ठ नागरिकको घाँटीबाट मोटरसाइकलमा आएका व्यक्तिहरूले सुनका सिक्री लुटेर फरार भएका थिए।
घटनाको अनुसन्धानका क्रममा उक्त समूहले सुनसरीको धरान–१५ स्थित पाथीभरा लाइनबाट करिब २ दशमलव ५ तोला र इटहरी–२० स्थित तरहराबाट ३ तोला सुनको सिक्री लुटेको खुलासा भएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रमेश्वर कार्कीका अनुसार पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि ललितपुर प्रहरी वृत्तमा पठाइएको छ।
Share this with your friends: