काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको राष्ट्र गौरव र अमरज्योति गौतम बुद्धको २५६१ औं जन्मजयन्तीको अवसरमा सम्पूर्ण बौद्ध धर्मावलम्बीलगायत समस्त नेपालीहरु तथा शाक्यमुनि बुद्धको भ्रातृत्व, शान्ति, अहिंसा र करुणाप्रति विश्वास राख्ने स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण महानुभावमा शुभकामना व्यक्त गरेकी छन् ।
बुद्ध जयन्तीका उपलक्ष्यमा आज शुभकामना सन्देश जारी गर्दै उनले सङ्घीय संरचनामा आधारित समावेशी, समानुपातिक एवम् लोकतान्त्रिक समाज तथा द्रूत र आर्थिक, सामाजिक विकास, दीगो शान्ति, सुशासन एवम् समृद्धितर्फ उन्मुख हाम्रो देशमा विविध जातजाति, भाषाभाषी र धार्मिक तथा सामाजिक सांस्कृतिक विविधताबीच एकता, सहिष्णुता र सद्भाव कायम गरी राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउने अभियानमा गौतम बुद्धका उपदेश तथा मार्गदर्शन हामी सबैका लागि प्रेरणादायी एवम् अनुकरणीय रहेको बताइन् ।
सन्देशमा राष्ट्रपतिले भनेकीछिन्, "बुद्धदर्शनलाई जीवनमा आत्मसात् गर्दै स्थापित चार आर्य सत्यलाई अङ्गीकार गर्न सकेमा मात्र पनि हामीभित्र आन्तरिक शान्ति तथा भ्रातृत्व प्रर्वद्धन हुने निर्विवाद छ ।” राष्ट्रपति भण्डारीले नेपालको पवित्रस्थल लुम्बिनीमा जन्मनु भएका नेपालमाताका सुपुत्र गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको संयोग रहेको आजको पवित्र दिनमा बुद्धजयन्ती मनाइरहँदा सद्भाव, मेलमिलाप र सहअस्तित्व एवम् अहिसांवादी सिद्धान्तको पालना गर्न सवैलाई प्रेरणा मिलोस भन्ने कामना गरिन् ।
यसैगरी राष्ट्रपति भण्डारीले किराँत धर्मावलम्बीहरुको पवित्र एवम् महान् उभौली पर्वका अवसरमा सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली किराँत धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिको कामना गरेकीछिन् । उभौली पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सामाजिक, सांस्कृतिक, भाषिक र जातीय विविधताका बिचमा अनुपम एकता रहेको हाम्रो देश नेपालको मौलिक संस्कृति सहितको एक प्रमुख समुदाय किराँतहरुको उभौली पर्वले नेपालीहरुवीच आपसी सद्भाव र सहिष्णुता कायम गर्दै सामाजिक एकता, शान्ति र मेलमिलापको वातावरण अभिवृद्धि गर्न प्रेरणा प्रदान गर्ने आशा लिएको उल्लेख गरिन् ।