चैत ८, काठमाडौं । विभिन्न राजनीतिक दल सम्बद्ध महिला नेत्रीहरुले मिडियामा महिलाका विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ।
अन्तरपार्टी महिला सञ्जालले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँहरुले सबै क्षेत्रका महिलाको मुद्दा मिडियाले समेट्नुपर्ने बताउनुभयो । सञ्जालका उपाध्यक्ष सावित्रा भुषालले महिला नेत्रीलाई अघि बढ्न मिडियाले सहयोग गर्नुपर्नेमा जोड दिनुभयोे । मिडियाले कम प्राथमिकता दिँदा महत्वपूर्ण विषयसमेत ओझेलमा परेको उहाँले औँल्याउनुभयो ।
स्थानीय तह, प्रदेश र सङ्घीय संसद्मा महिला प्रतिनिधित्व बढाउनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तीनै तहका निर्वाचनमा महिला सहभागिता ५० प्रतिशत पु¥याउन हामीले अहिलेदेखि तयारी गर्न आवश्यक छ ।”
राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिनाले राज्यले महिलालाई दिने सेवासुविधाका बारेमा महिला राजनीतिज्ञ पनि जानकार हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । महिला नेत्रीले पनि क्षमता विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, “महिलाले आफ्नो क्षमता विकास गर्दै जाने हो भने विभिन्न पदका लागि दाबी गर्न सक्छन् ।” सञ्जालका महासचिव कल्याणी रिजालले सञ्जालले विगतदेखि नै सबै क्षेत्रमा महिला सहभागिता बढाउन पहल गरिरहेको बताउनुभयो ।