काठमाडौं। ‘इमेज लोक कलाकार’ प्रतियोगिताको पहिलो संस्करणमा पाल्पाकी अञ्जना सारु मगर विजयी भएकी छन् । उनले पुरस्कारस्वरूप एक लाख रुपैयाँसहित अडियो–भिजुअल रेकर्डिङ लगायतका अफर प्राप्त गरेकी छन् ।
इमेज च्यानलले गरेको प्रतियोगिताको स्याङ्जाका नरबहादुर रानाले पब्लिक च्वाइस अवार्ड जिते । उनलाई सेलिब्रिटी म्यानेजमेन्ट कम्पनीले पुरस्कारस्वरूप ३५ हजार रुपैयाँ दियो । अन्य उपहार पनि उनले पाए ।
होटल सांग्रिलामा सोमबार आयोजित ग्रान्ड फिनालेमा उत्कृष्ट पाँचबाट विजेता घोषणा गरिएको थियो । विजेतालाई इमेज च्यानलका अध्यक्ष आरके मानन्धरले ट्रफी र पुरस्कार प्रदान गरेका थिए । उनले सांगीतिक रियालिटी सो आयोजना गर्नुको कारणसमेत खुलाए । ‘नेपाल टेलिभिजनबाट इमेज च्यानल सुरु गर्दा मलाई संगीतले जिउँदो राखेको थियो,’ उनले भने, ‘मेरा लागि गीतसंगीत लाइफ लाइन बने । आज यो गुनको ऋण चुक्ता गर्न खोज्दै छु ।’
फिनालेमा उत्कृष्ट दस प्रतियोगिले प्रस्तुति दिएका थिए । त्यो बेला अञ्जनाले कोमल वलीको ‘मलमल किरी जुनकिरी !’ गाइन् । स्नातक पहिलो वर्षमा अध्ययनरत उनी शीर्ष स्थान हासिल गर्दा भावुक बनेकी थिइन् । १ लाख ४० हजार ३ सय ७८ मत पाएका नरबहादुर भने फुरुंग देखिएका थिए ।
अञ्जना र नरबहादुरसँगै उत्कृष्ट पाँचमा सुबिन गुरुङ, रेश विश्वकर्मा र गीता सेञ्चुरी छानिएका थिए । प्रतियोगितमा मीरा राणा, तारा थापा, कुमार बस्नेत, नवीन खडका, कविता आले, रमेश बीजी, मनु नेम्बाङ लगायतले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा उनीहरूलाई कदरपत्र दिएपछि धर्मेन्द्र सेवान, पशुपति शर्मा, राधिका हमाल, तारा थापा लगायतले गीत सुनाए । मनोज गजुरेलको कमेडी प्रिय मानियो ।
समारोहमा मिडिया सोसाइटीका पूर्वअध्यक्ष कैलाश सिरोहियाले कलाकारलाई हौसला प्रदान गरेकामा इमेज च्यानलको प्रशंसा गरे । ‘यस्ता कार्यक्रमको खाँचो थियो,’ उनले भने, ‘यिनले संस्कृति जर्गेनमा मद्दत पुर्याउँछन् ।’ सोसाइटी अध्यक्ष पुष्करलाल श्रेष्ठले पनि लोक कलाकारलाई प्रोत्साहन गरेकामा आयोजक संस्थालाई धन्यवाद दिए ।