फागुन २४, चिप्लेढुङ्गा । महिलाद्वारा सञ्चालित महिला मात्रै कार्यरत रेडियो जननी ९०।६ ले १०९ औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवस एवं छैटौँ रेडियो स्थापना दिवसका अवसरमा विभिन्न क्षेत्रका ११ महिलालाई सम्मान गरेको छ । सम्मानित हुनेमा शैक्षिकतर्फ प्रा भगवती केसी, उद्यमशीलतातर्फ सौन्दर्य व्यवसायी चिनु गुरुङ, महिला बालवालिकातर्फ सम्झना देवकोटा, धार्मिक क्षेत्रतर्फ ब्रह्मकुमारी पुनम गुरुङ, स्वास्थ्य क्षेत्रतर्फ जीता बराल, सामाजिक क्षेत्रतर्फ ईश्वरी गुरुङ, पर्यटन क्षेत्रतर्फ सौमाया भट्टराई, अपाङ्गता क्षेत्रतर्फ अञ्जना केसी, साहित्य क्षेत्रतपर्फ रमा प्रासर, सहकारीतर्फ पवित्रा केसी र खेलकूद क्षेत्रतर्फ पुनम गुरुङ हुनुहुन्छ ।
उहाँहरुलाई गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले दोसल्ला र सम्मानपत्र प्रदान गर्दै आफ्नो मन्त्रालयले स्वरोजगार कार्यक्रम शुरुआत गरी व्यावसायिक सीपलाई प्राथमिकता दिने बताउनुभयो । सो अवसरमा समाजमा उत्कृष्ट योगदान पु¥याएका महिला समूहलाई ‘जननी अवार्ड –२०७५’ बाट सम्मान गरिएको थियो । सम्मानित हुने महिला समूहमा शिवालय महिला विकास बचत तथा ऋण सहकारी संस्था, मिलनशील महिला समूह पोखरा– ३० ढुङ्गेपाटन र नारी उत्थान दिदीबहिनी समूह पोखरा १७ छन् ।
त्यसैगरी महिलालाई कानूनी सचेतना प्रदान गर्ने उद्देश्यले हिंसा न्यूनीकरण र कानूनी सचेतना केन्द्रित रहेर अधिवक्ता इन्दु तुलाधरले प्रशिक्षण दिनुभएको थियो । रेडियोका अध्यक्ष मिलन थापाले रेडियोले स्थापनादेखि नै उद्यमशील समाजका लागि अग्रसर हुँदै विभिन्न कार्यक्रम गर्दै आएको र समुन्नत र स्वस्थ समाजका लागि निरन्तर आफ्नो कार्यक्रम गर्दै जाने जानकारी दिनुभयो । रेडियोका संस्थापक अध्यक्ष हीरा भट्टराईले सामाजिक न्याय र समतामूलक समाजका लागि निरन्तर अग्रसर रेडियोले महिलाको क्षमता तथा दक्षता विकास र उद्यमशीलतालाई जोड दिएको बताउनुभयो । रेडियोका कार्यकारी निर्देशक एवं कार्यक्रम संयोजक सविता शेरचन, सचिव हसिना बस्नेत, जननीका स्टेशन म्यानेजर विमला भण्डारीलगायतले रेडियोका विभिन्न गतिविधि र आगामी कार्यक्रमका बारेमा प्रकाश पार्नुभएको थियो ।