मंसिर ११, काठमाडौं । पिकनिक जानिभनेपछि त्रियुगा नगरपालिका ५ देउरी पुरानो टोलकी ७ वर्षीया सोनिया चौधरी निकै खुसी भइन्। ११ वर्षीय दाइ विकास र बुबा विन्देश्वरसँगै शनिवार पिकनिक जान पाउँदा उनी दङ्ग थिइन्।
तर यो खुसी धेरै टिकेन। पिकनिकबाट अँधेरी झर्ना हेरेर फर्कने क्रममा बस दुर्घटनामा सोनियाको मृत्यु भएसँगै खुसीको अन्त्य भएको छ। उनका सहोदर दाजु ११ वर्षीय विकास पनि उनीसँगै अस्ताएपछि अहिले परिवार शोकमा छ।
एकाघरका सोनिया र विकाससँगै चालक ४० वर्षीय बिखन चौधरीको पनि दुःखद निधन भएको छ। पिकनिक टोली लिएर गएको त्रियुगा नगरपालिका ५ दिउरीस्थित अन्नपूर्ण बोर्डिङको प्र १–०५–००१ ख ००४४ नं. को बस मदन भण्डारी लोक मार्गको जोगीनीटोलमा शनिवार दिउसो दुर्घटना हुँदा उनीहरूको ज्यान भएको हो।
दुर्घटनामा अन्य ३६ जना घाइते भएको प्रहरीले जनाएको छ। घाईतेहरुमध्ये १५ जनाको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। जसमा १७ वर्षीया रामधुनी चौधरी, ३५ वर्षीय विन्देश्वर चौधरी र ५४ वर्षीय सत्यनारायण चौधरीको आइसियुमा र अन्यको आकस्मिक वार्डमा उपचार भइरहेको छ।स्थानीयका अनुसार पिकनिक जाने पूर्व सहमति अनुसार गएको तिहारमा पुरानो टोलवासी आबद्ध ‘नयाँ बस्ती टोल विकास संस्था’मातह पर्ने पुरानो टोलमा बसोबास गर्ने १ घर दाससहित लगभग ४० घरधुरी चौधरी परिवारका बालबालिकालाई नाचगान गराउँदै देउसी खेलाइएको थियो।
देउसीबाट संकलित रकममा केही थपेर पुरै गाउँका बालबालिका शनिवार बिहान पिकनिक गए। पिकनिकमा सहभागीमध्ये चालक बिखन ४० वर्ष, अरुण चौधरी ९३८०, रामप्रसाद चौधरी ९४००, नारायण चौधरी ९१८० र सत्यनारायण चौधरी ९५४० बाहेक अन्य सबै ५ देखि १७ वर्ष उमेर समूहका थिए।
बिखन गाउँनजिकै रहेको अन्नपूर्ण बोर्डिङमा बस चालकको काम गर्थे। पिकनिक जाने संख्या ठुलो भए पछि बस भाडामा लिने कुरा भयो, उनकै आग्रहमा इन्धन हाल्ने गरी बोर्डिङले गाउँलेलाई बस उपलब्ध गराएको बोर्डिङ सञ्चालक अध्यक्ष क्षेत्रबहादुर खड्का (रामजी)लाई उद्धृत गर्दै उनीनिकट स्रोतले जनायो। भिखन विद्यालयकै गाडी चालक भएकैले उनको आग्रह अनुसार तेल हाल्ने खर्च लिने गरी बस उपलब्ध गराउँदा दुर्घटना भएर जनधनको ठुलो क्षति पुगेको उनले बताए।
पिकनिक टोली दिउरीदेखि लगभग ६ किलोमिटर पश्चिममा पर्ने त्रियुगा नगरपालिका ७ कालीखोलास्थित पिकनिक स्पट तारपुल चौर पुग्यो। त्यहाँ पुगेर टोलीले बिहानको खाजा खाएपछि वयस्कहरू नाचगान गर्दै दिउँसोको खाना पकाउन थाले। बालबालिकाहरू खाना पाकुन्जेल उदयपुरगढी गाउँपालिका ७ अँधेरीस्थित झर्ना हेरेर आउने भन्दै बस चढेर निस्के। पिकनिक स्थलदेखि झण्डै ७ किलोमिटर पश्चिममा मदन भण्डारी लोकमार्गमै रहेको अँधेरी झर्ना जाने क्रममै चालक भिखनले बसको ब्रेक फेल भएको चाल पाएर सतर्क गराइसकेको घाइतेहरूले खुलाएका छन्।
‘गाडीको ब्रेक फेल भएछ, सबैले आफ्नो सीट बलियो गरी समात्नू है भनेर डाईभर अङ्कलले भन्नुभएको थियो’ घाइतेमध्येकी १५ वर्षीया अनिषा चौधरीले भनिन् ‘जाँदा तेर्सो र उकालो भएकाले केही भएन, फर्कँदा ओरालो छ होस् गर्नू भन्नुभयो। झरना हेरेर फर्कँदा दुर्घटना भयो, हामी घाइते भयौँ, डाईभर अङ्कल र छिमेकी भाइबहिनी बाँचेनन्।’
निधार, गाला र हातमा चोट लागेकी अनिषा जिल्ला अस्पतालबाट आइतबार दिउँसो डिस्चार्ज भएकी छिन्। खतरामुक्त रहेकी उनी गाडीको पछिल्लो सिटमा बसेको तर, दुर्घटना भएको पत्तै नपाएको बताउँछिन् ‘हामी त सबै गाडीभित्र रमाइरहेका थियौँ, कतिखेर पल्ट्यो थाहै भएन, होस खुल्दा अस्पतालमा थिएँ।’
अर्का १४ वर्षीय विशाल चौधरीले पनि चालकले ब्रेक फेल भएको छ भन्दै होस गर्न भनेको सम्झन्छन्। ‘डाईभर अङ्कलले सबैलाई ब्रेक फेल भएको छ, सतर्क रहनु भन्नु भएको थियो’ उनले दुर्घटनाअघिको कुरा सम्झे ‘झर्ना हेरेर फर्कँदा ओरालो र धेरै वटा घुम्तीमध्ये जोगीनीटोलको सानो घुम्तीमा दुर्घटना भइहाल्यो।’ पिकनिकमा ४३ जना भए पनि झर्ना हेर्न जानेको संख्या भने २५–३० जना मात्र रहेको अनुमान प्रहरीले गरेको छ। साभार नागरिक