काठमाडौं । अन्तराष्टिय क्षेत्रको प्रभावले नेपाली बजारमा समेत सुनचाँदीको भाउ बढेको छ । यी दुवै धातुुको भाउ बिहीबार साउन महिनाकै उच्च विन्दूमा पुुगेको हो । अन्तराष्टिय क्षेत्रको प्रभावसँगै नेपाली हिन्दू महिलाहरुको महान पर्व तिज समेत आउन लागेकोले यसले समेत सुनचाँदीको भाउमा केही वृद्धि गर्नसक्ने शाक्यको विश्लेषण छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको मूल्य प्रतितोला ५४ हजार ९ सय तोकेको छ । यो मूल्य बुधबारको भन्दा ५ सयले बढी हो । बुधबार फाइन गोल्डको मूल्य प्रति तोला ५४ हजार ४ सय थियो ।
बिहीबार कायम फाइन गोल्डको प्रति तोला ५४ हजार ९ सय मूल्य साउन महिनाकै महंगो हो । यसअघि साउन १५ र १७ गते फाइन गोल्डको मूल्य प्रतितोला ५४ हजार ८ सय पुुगेको थियो । साउनका बाँकी अन्य दिनमा सुनको मूल्यमा उतारचढाव भइरहेको थियो । साउन १ गते सुनको मूल्य प्रतितोला ५३ हजार ५ सय मात्र थियो । साउन २३ गतेसम्म प्रति तोला ५४ हजार रहेको मूल्य त्यसपछि दिनहुँ बढिरहेको हो ।
सुनको मूल्यसँगै चाँदीको मूल्यमा समेत बढोत्तरी भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोलामा १५ रुपैयाँले वृद्धि भयो । बुधबार प्रतितोला ७ सय ३५ रुपैयाँ रहेको चाँदी बिहीबार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको हो । साउन २२, २३ र २४ गते चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो । सुनजस्तै चाँदीको मूल्य पनि साउनकै उच्च हो । यसअघि साउन ८, ९, १८ र १६ गते चाँदीको मूल्य प्रतितोला ७ सय ४० कायम भएको थियो । साउनमा हालसम्म चाँदीको मूल्य ७ सय ५० पुुगेको थिएन ।