रौतहट। एक गर्भवतीलाई सुत्केरी गराउन अस्पताल लैजाने क्रममा बाढीले उनीहरु सवार गाडी बगाउँदा गर्भवतीसहित ६ जनाको मृत्यु भएको छ । रौतहटको परोहा गाउँपालिका वडा नं ३ लौकाहाकी ती गर्भवतीलाई राजपुर फरहदव बाट गौर आउँदै गर्दा गाडी बाढीले बगाएको हो ।
उनीहरु चढेको बोलेरो गाडी राजपुर फरहदवा चोक आइपुग्दा उत्तरतिरबाट आएको पानीको बहावले बगाएको हो । गाडी बग्दा ६ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता रहेको बताइएको छ। दुई दिनदेखि अविरल वर्षा हुँदा तराईका अधिकांस भूभाग बाढीको चपेटामा परेका छन्। यसका कारण स्थानीय स्वास्थ्य सेवा पनि नराम्ररी प्रभावित भएको छ । रासस