काठमाडौँ । नेपाल नर्सिङ परिषद्ले मान्यता नपाएका विदेशी कलेजमा अध्ययन गरेका नेपाली नर्सिङ विद्यार्थीलाई स्वदेशमा दर्ता नगर्ने जानकारी दिएको छ । शुक्रबार परिषद्ले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित देशको नर्सिङ परिषद्, प्रान्तीय परिषद् र शिक्षा तथा स्वास्थ्य मन्त्रालयले स्वीकृति नदिएको कलेजमा पढ्ने विद्यार्थीलाई नेपालमा दर्ता नगरिने स्पष्ट गरेको हो ।
परिषद्ले आफ्नो सुचनामा भनेको छ ‘आफूले अध्ययन गर्ने नर्सिङ कलेजलाई सम्बन्धित देशको नर्सिङ परिषद्, स्टेट काउन्सिल, स्वास्थ्य कल्याण मन्त्रालय वा शिक्षा मन्त्रालयबाट मान्यता पाएको हुनुपर्नेछ ।’
सुचनाको दोस्रो बुँदामा नर्सिङ अध्ययन सकिएपछि सम्बन्धित देशको नर्सिङ परिषद्मा दर्ता हुनुपर्ने वा आफूले अध्ययन गरेको संस्था उक्त देशको नर्सिङ काउन्सिल, शिक्षा वा स्वास्थ्य मन्त्रालयमा दर्ता भएकै हुनुपर्ने उल्लेख छ ।
यदि यी सामान्य मापदण्ड पनि पूरा नगरेको कलेजमा पढेर आएमा नर्सिङ परिषद्ले त्यस्ता विद्यार्थीलाई परीक्षामा समावेश नगराउने र दर्ता नगर्ने स्पष्ट गरेको छ ।
परिषद्को यस्तो सुचना इण्डियन नर्सिङ काउन्सिलले बैंगलोरका नर्सिङ कलेजहरुको सम्बन्धन खारेज गरेपछि सार्वजनिक भएको छ । यसको अर्थ आगामी दिनमा कुनै विद्यार्थीले बैंगलोरमा नर्सिङ अध्ययन गरेमा त्यस्ता विद्यार्थीलाई नेपालमा दर्ता नगर्ने भन्ने हो ।
(हेर्नुहोस् नेपाल नर्सिङ परिषद्को सूचना)

नेपाल नर्सिङ परिषद्ले सार्वजनिक सूचना जारी गरेर विद्यार्थीलाई मान्यता नपाएका कलेजमा नजान भनेपनि शिक्षा मन्त्रालयले भने अझै पनि बैंगलोरमा नर्सिङ अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ दिइरहेको छ । यस विषयमा शिक्षा मन्त्रालयका सहसचिव सूर्य गौतमसँग कुराकानी गर्दा यस विषयमा छलफल भइरहेकाले चाँडै निर्णय गर्ने जानकारी दिए ।