जेठ १७, चिप्लेढुङ्गा । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पत्रकारिता क्षेत्रमा महिलाको आगमन, सक्रियता र वृत्ति विकासका लागि महानगरपालिकाले विशेष योजना बनाएको जानकारी दिनुभएको छ ।
सञ्चारिका समूह गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको ‘स्थानीय सरकार संचार योजना’ विषयको दुईदिने अन्तरसंवाद कार्यक्रममा जिसीले नयाँ शासन व्यवस्थामा लैङ्गिक समानता र महिला विकासमा जोड दिनुपर्ने बताउँदै दिगो विकास र सुशासनका लागि राज्यको चौथो अङ्ग व्यवस्थित र जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले सुशासन र विकासप्रति स्थानीय सरकार र सञ्चार क्षेत्रको एकापसको बुझाइ संस्थागत गरी सार्वजनिक हितका लागि योजना बनाउन आग्रह गर्नुभयो ।नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले प्रेस स्वतन्त्रता र सूचनाको हक सुनिश्चित गर्न स्थानीयस्तरदेखि नै सबै जागरुक र जिम्मेवार बन्नुपर्ने बताउनुभयो । अन्तरसंवादमा सहभागी महानगरका ३३ वटै वडाका वडाध्यक्ष एवं प्रतिनिधिले पत्रकारिता जगत्मा पछिल्लो समय केही विकृति आएकाले त्यसतर्फ ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
पोखरा – १ का वडाध्यक्ष शारदा पराजुली र १३ का वडाध्यक्ष दर्शन लामाले सञ्चार सम्बन्धित आफ्ना अनुभव केन्द्रित प्रस्तुतीकरण राख्नुभएको थियो । अग्रज पत्रकार नारायण कार्की र पत्रकार केशवशरण लामिछानेले क्रमशः समाचारका अन्तर्वस्तु र पत्रकार आचारसंहिताका बारेमा सहजीकरण गर्नुभएको थियो । सञ्चारिका समूह गण्डकी प्रदेशका अध्यक्ष स्मिता अधिकारीले स्थानीय शासनमा धेरै जनतालाई सहभागी गराउँदै उपयुक्त नीतिनियम र पद्धतिभित्र रहेर कार्य सम्पादनसँगै सार्वजनिकीकरण नै सुशासनको आधार भएको बताउनुभयो ।