भदौ ९ , काठमाडौं । अमेरिकाको क्लिभल्यान्ड क्लिनिकले महिला खेलाडीको स्वास्थ्य, खेल प्रदर्शन तथा दीर्घकालीन आवश्यकतालाई लक्षित गर्दै महिला एकीकृत खेलकुद, व्यायाम तथा अनुसन्धान कार्यक्रम (इजर) स्थापना गरेको छ।
कार्यक्रममा खेल चिकित्सा, हाडजोर्नी, मुटुरोग, स्त्रीरोग, अन्तःस्रावी रोग, मानसिक स्वास्थ्य तथा भौतिक उपचारलगायत विभिन्न क्षेत्रका विशेषज्ञले संयुक्त रूपमा सेवा प्रदान गर्नेछन्।
क्लिभल्यान्ड क्लिनिकका अनुसार महिला खेलाडीसम्बन्धी अनुसन्धान पुरुष खेलाडीको तुलनामा निकै कम छ। खेलाडीसम्बन्धी प्रकाशित अनुसन्धानमध्ये करिब ६ देखि ९ प्रतिशत मात्र महिला खेलाडीमा केन्द्रित रहेको जनाइएको छ। वाइजरमार्फत महिला खेलाडीका लागि आवश्यक स्वास्थ्य अनुसन्धान र उपचारलाई प्राथमिकता दिइनेछ।
कार्यक्रमले चोटपटकको उपचारमा मात्र नभई मुटुको स्वास्थ्य, हड्डीको स्वास्थ्य, पोषण, निद्रा, मानसिक स्वास्थ्य तथा खेल प्रदर्शन सुधार लगायतका विषयमा दीर्घकालीन हेरचाह प्रदान गर्ने लक्ष्य राखेको छ।
वाइजरले किशोरी अवस्थादेखि व्यावसायिक खेलाडी हुँदै वृद्धावस्थासम्म खेलकुद तथा शारीरिक गतिविधिमा सक्रिय महिलालाई समेट्ने जनाएको छ।