असार ३१, म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँको भिरकुना र ६, पाखापानीको फुलडाँडामा महिलाहरुले शनिबार सामुदायिक भवन निर्माण गरेका छन् ।
गाउँपालिकाको आर्थिक सहयोगमा फुलडाँडामा फुलडाँडा आमा समूहले दुईकोठे भवन निर्माण गरेको हो ।
गाउँपालिकाबाट प्राप्त रू. पाँच लाख ४० हजार र स्थानीयवासीबाट संकलित रू. ५६ हजार ८६७को लगानीमा सो भवन निर्माण गरिएको वडाध्यक्ष मनकुमार शेरपुञ्जाले जानकारी दिए । सो भवनमा बालकक्षा सञ्चालन गरिने स्थानीयवासीले बताएका छन् ।
यसैगरी रघुगंगा गाउँपालिका–५ झिँको भिरकुनामा पनि आमा समूहले सामुदायिक भवन निर्माण गरेका छन् । गाउँपालिकाबाट प्राप्त रू. ८ लाखको अनुदानमा आमा समूहले शौचालय सहितको दुईकोठे भवन निर्माण गरेको समूहका सदस्य ऋति थजालीले बताइन् । सामुदायिक भवन निर्माण भएपछि भेला, बैठक तथा तालीम सञ्चालन गर्न सहज भएको छ ।