काठमाडौं। विश्व स्तनपान सप्ताह २०१७ को अवसरमा युवाहरुले आयोजना गरेको तस्वीर प्रतिस्पर्धामा कर्णाली अंचलकी एक आमाले छोरालाई स्तनपान गराईरहेको तस्वीर प्रथम भएको छ । फेसबुकमा सबैभन्दा धेरै मनपराइएको फोटोको आधारमा आयोजित अर्को प्रतिस्पर्धा भने एक युवा आमाले आफ्नो एक वर्षे बच्चालाई मध्यपहाडको एक स्वास्थ्य चौकीमा स्तनपान गराइरहेको तस्वीरका लागि सिसीरकुमार तिम्सिनाले जितेका छन्।
सँधैझैं यस वर्ष पनि विश्वभर अगस्त १ देखि ७ तारिख (साउन १७ देखि २३)सम्म ‘स्तनपानलाई सबै मिलि दिगो बनाउँ’ नाराका साथ स्तनपान सप्ताह सोमवारसम्म मनाइदै छ । स्तनपानलाई प्रोत्साहित गर्ने तथा बालबालिकाको स्वास्थ्य सुधार्ने उद्देश्यका साथ युवाहरुले स्तनपान सप्ताह पारेर यो प्रतिस्पर्धा आयोजना गरेका थिए ।
स्तनपान सप्ताहको अवसर पारेर युवा स्वयंसेवकहरुको संजाल ‘सोचाइ–पोषणका लागि युवा’ (Sochai – Youth for Nutrition )ले प्रतिस्पर्धात्मक ‘फोटोग्राफी’ कार्यक्रमको आयोजना गरेको थियो ।
‘मातृ–शिशु पोषण तथा स्तनपान’ को विषयमा आधारित उक्त ‘फोटोग्राफी’ प्रतिस्पर्धाको नारा ‘विकासका लागि पोषण’ राखिएको थियो ।
नेपालमा अहिले पनि सुत्केरी आमाहरु सार्वजनिक स्थलमा स्तनपान गराउन हिच्किचाउँछन् । पढेलेखेका सहरी क्षेत्रमा बसोबास गर्ने आमाहरु समेत स्तनपानको महत्वको बारेमा जानकार छैनन् ।
सोसल डेभलपमेन्ट एण्ड प्रमोसन सेन्टर (एसडीपीसी)का विवेक अधिकारीका अनुसार ‘सजिलो पहूँचका कारण सहरी क्षेत्रमा बच्चा ६ महिना पुग्नु अगाडी नै ‘सेर्लेक’ जस्ता ठोस खानेकुरा खुवाउने चलन छ । यसले गर्दा गाउँभन्दा पनि सहरी क्षेत्रका बच्चाहरुमा पोषणको कमी अझ धेरै हुने अध्ययनबाट देखिएको छ ।’
बच्चा पाएपछि आमाले स्तनपानका लागि तीन अंग्रजीका ‘इ’ को पालना गर्नुपर्छ । ‘अर्ली इनिसिएसन’ अर्थात बच्चा जन्मिएको १ घण्टा भित्र स्तनपान गराउने, ‘एक्सक्लुसिभ ब्रेस्टफिडिङ्ग’ अर्थात बच्चा जन्मिएदेखि ६ महिनासम्म निरन्तर स्तनपान मात्रै गराउने र ‘एक्सटेनडेड ब्रेस्टफिडिङ्ग’ अर्थात बच्चा जन्मिएदेखि २ वर्षसम्म पूर्ण स्तनपान गराउने ।
तर, नेपाल डेमोग्राफिक हेल्थ सर्वेले गरेको सर्वेक्षण परिणाम अनुसार नेपालमा ५५ प्रतिशत महिलाले मात्र बच्चालाई १ घण्टा भित्रै स्तनपान गराउँछन् भने जम्मा ६६ प्रतिशत महिलाले मात्र ६ महिनासम्म बच्चालाई आमाको दुध मात्र खुवाउने गर्दछन् ।
कार्यक्रममा ‘सोचाइ – पोषणका लागि युवा’ कि संस्थापक बोनिता शर्माले नवजात शिशुहरुको स्वास्थमा स्तनपानको महत्वको बारेमा जनचेतना फैलाउने र सार्वजनिक स्थलमा बच्चालाई स्तनपान गराउनका लागि सुत्केरी आमाहरुलाई प्रोत्साहन दिने उद्देश्यले यो प्रतिस्पर्धाको आयोजना गरिएको बताइन् । उनले भनिन्, ‘विशेष गरेर युवाहरुलाई स्तनपानको महत्ववारे सचेत गराउने उद्धेश्यले यो प्रतिस्पर्धा आयोजना गरिएको हो र युवाहरुले कार्यक्रममा सक्रिय सहभागिता जनाएर विषयप्रति उत्सुकता जगाएकोमा म आभार व्यक्त गर्न चाहन्छु।‘
उक्त प्रतिस्पर्धा ‘सदृश्य डट कम’ तथा ‘सोसल डेभलपमेन्ट तथा प्रमोसन सेन्टर (एसडिपीसी)’ को सहयोगमा आयोजना गरिएको थियो ।
चौविस प्रतियोगी तस्वीरहरु कार्यक्रममा सहभागी थिए । प्राप्त चौविस फोटोहरुबाट दुईजना विजेता चुनिएको थियो । एक विजेता प्रताप सुन्दर श्रेष्ठलाई प्रतिस्पर्धाका निर्णायक फोटोग्राफर चन्द्रशेखर कार्की सहितको टोलीले फोटोको ‘कन्टेन्ट र कम्पोजीसन’ हेरेर उत्कृष्ट तस्वीर छानिएको बताए ।
अर्का विजेता सिसिर कुमार तिम्सिनाले फेसबुकमा सबैभन्दा धेरै मनपराइएको फोटोको आधारमा प्रतियोगिता जितेका थिए ।
प्रतिस्पर्धाका विजेताहरुलाई साउन २१ गते काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिएको थियो ।
विजेतालाई रु. पाँच हजार नगद र प्रमाणपत्र पुरस्कार स्वरुप हस्तान्तरण गरिएको थियो । पुरस्कार वितरण कार्यक्रमको अवसरमा प्रतिस्पर्धाका निर्णायक फोटो ग्राफर चन्द्रशेखर कार्कीले यस प्रकारका प्रतियोगिताले युवाहरुको प्रतिभालाई अगाडि ल्याउने मात्र नभई स्तनपानसङ्ग सम्बन्धित गलत धारणाहरु हटाउन निकै ठुलो भूमिका निर्वाह गर्ने कुरा बताए ।