काठमाडौं। कवि विना थिङको माइती सहर हो हेटौंडा । राजधानीबाट एकल कविता वाचनका लागि शनिबार यहाँ आइपुगेकी उनले दुई घन्टासम्म साहित्यअनुरागीलाई एकाग्र बनाइन् । महिलाका समस्या र पहिचानमाथि लेखिएका एक दर्जन सिर्जना उनले पस्केकी थिइन् ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी आँचल साहित्य कला पुञ्ज हेटौंडाले कवि थिङको एकल वाचन गरेको हो । साहित्य संगम मकवानपुरको सभाहल थिङको कविता सुन्न भरिएको थियो । हेटौंडा उपमहानगरपालिका–९ पशुपतिनगरमा जन्मिएकी कवि थिङले सुरुमै ‘धुवाँ र आमा’ शीर्षकको कविता वाचन गरेर दर्शकश्रोतालाई भावुक बनाएकी थिइन् ।
यसपछि उनले ‘प्रेषक बुद्ध’, ‘जुनकिरी’, ‘कालो गुराँस’, ‘गुराँस’, ‘मार्फाको रायो’ लगायतका कविता सुनाइन् । साहित्यकारद्वय आरसी रिजाल र सुभास खनालले कवि थिङको कवितामाथि टिप्पणी गरे । महिला तथा बालबालिका कार्यालय मकवानपुरकी प्रमुख शोभा शाहले पनि उनको कविताको प्रशंसा गरिन् । थिङका ‘छुकी’ (कथा संग्रह) र ‘रातो घर’ (कविता संग्रह) प्रकाशित छन् । साहित्यकार निमेष निखिल र अप्सरा तिम्लसिनाले, ‘उनको कवितामा पहिचान र महिलाका स्वरहरु मुखरित भएको’ दाबी गरे ।