कालिकोट । जिल्ला कारागार कालिकोटमा रहेका कैदीको एक जोडीले बिहिवार जेलभित्रै विवाह गरेका छन् । राँचुलीका ३३ वर्षिय डिल्ली कोइराला र लालु घर भएकी ३० वर्षिया मिमकोशा बिष्टले कारागारमै विवाह गरेका हुन् ।
कोइराला श्रीमतीको हत्या गरेर जेल सजाय भोग्दै आएका छन् भने बिष्ट श्रीमान् हत्याको अभियोगमा जेल सजाय भोगिरहेकी छन् । दुवै एकै जेलमा कैद भुक्तान गर्दै आएका थिए । कोइराला २९ साउन ०६८ मा श्रीमती नन्दशोभा कोइरालाको हत्यापछि जिल्ला अदालत कालिकोटको फैसला अनुसार भदौ २२ गते जेल चलान भएका थिए । बिष्ट १ असोज ०७२ मा श्रीमान् प्रेम बिष्टको हत्या गरेपछि अदालतको फैसला अनुसार असोज १० गते जेल चलान भएको जेलर संजय महतोले बताउनुभयो ।
बन्दीगृह भित्र महिला र पुरुषको छुट्टै बस्ने, खाने व्यवस्था छ । डिल्लीकी आमाले मिमकोशालाई बुहारी बन्न अनुरोध गरेको बिष्टको भनाइ छ, ‘डिल्लीको आमाले गर्दा मैले उहाँलाई मन पराएको हुँ । मैले श्रीमानको हत्या गरें, डिल्लीले पनि श्रीमतीको हत्या गरे । त्यसैले उहाँसँगै विवाह गर्न मन लाग्यो ।’ उनीहरुले जेलभित्रै विवाह गरेपनि कानुनी रुपमा जेल सजाय पूरा नगर्दासम्म सँगै बस्न नपाउने जेलर संजय महतोले बताउनुभयो । कोइरालाले सातवर्ष कैद सजाय भोगेका छन् भने उनले ३ वर्ष अझै जेल कुर्नु पर्नेछ । त्यस्तै, बिष्टले पनि अझै ४ वर्ष सजाय भोग्न बाँकी छ । कोइरालाका दुई छोरा छन् भने विष्टका १ छोरा र ४ छोरी छन् ।