काठमाडौँ । आगामी पाँचवर्षभित्र कावासोती नगरपालिकालाई कुपोषणमुक्त बनाउने प्रतिबद्धता त्यहाँका निर्वाचित जनप्रतिनिधिले व्यक्त गरेका छन्।
नवलपरासीस्थित कावासोती नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले स्वस्थ्य, सफा र पूर्ण पोषणयुक्त घर, गाउँ, वडा अभियान सञ्चालन गर्दै यो नगरपालिकालाई कुपोषणमुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले युनिसेफ र युरोपियन युनियनको आर्थिक एवं प्राविधिक सहयोगमा आज नगरपालिकामा आयोजित ‘संघीय प्रणालीमा बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनसम्वन्धी अभिमुखीकरण’ कार्यक्रममा नगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षले यो नगरपालिकालाई कुपोषणमुक्त बनाउन नौ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभयो ।
सो अवसरमा नगरपालिकाका प्रमुख चन्द्रकुमारी पुनले पछाडि पारिएका समुदायको पोषणको अवस्था सुधार गर्दै नगरपालिकालाई कुपोषणमुक्त बनाउने कार्यक्रम आजका दिनदेखि नै सञ्चालन गरिने जानकारी दिनुभयो ।
सो प्रतिबद्धतापत्रमा कुपोषणमुक्त नगरपालिका घोषणा गर्नका लागि सबैस्तरमा बहुक्षेत्रीय पोषण योजना तर्जुमा गरी त्यसको प्रभावकारी कार्यान्वयन तथा अनुगमन, सुशासन र पारदर्शिता सुनिश्चित गर्ने रहेको छ ।
यसअघि बर्दियाका ठाकुरबाबा नगरपालिकाले पनि आगामी पाँच वर्ष भित्र यसलाई कुपोषणमुक्त नगरपालिका बनाउने प्रतिबद्धता जनाइसकेको राष्ट्रसंघीय बाल विकास कोष ९युनिसेफ०का सञ्चार विज्ञ मुकुन्द नेपालले जानकारी दिनुभयो ।
सरकारले मातृ तथा शिशु पोषणको अवस्था सुधार गर्न विभिन्न २८ जिल्लाका २९९ वटा स्थानीय तहमा बहुक्षेत्रीय पोषण योजना कार्र्यान्वयन गरिरहेको छ । नेपालमा पाँच वर्षमुनिका करिब ३७ प्रतिशत बालबालिका कुपोषित छन् । रासस