चैत १७, सुर्खेत । गत चैत ६ गते अपहृत बालिका उद्धार गर्ने एक नागरिकलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले सम्मान गरेको छ ।
वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतका हर्कबहादुर बुढामगरलाई आज जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक वसन्त रजौरेले सम्मानपत्र प्रदान गर्नुभएको हो । “समाजमा बर्दिविनाको नागरिकले साहसिक र उदाहरणीय काम गरेकाले हामीले बुढामगरलाई सम्मान गरेका हौँ”, प्रहरी उपरीक्षक रजौरेले भन्नुभयो ।
सम्मान प्राप्त गर्नुभएका बुढामगरले सामान्य नागरिकको हैसियतबाट अपहृत बालिकाको जीवन जोगाउन पाउँदा निकै खुशी अनुभूति गरेको प्रतिक्रिया दिनुभयो ।
अपहरणकारीको हातबाटै खोसेर बालिकालाई उद्धार
घटनाका बारेमा बुढामगरले भन्नुभयो, “चैत ६ गते होलीको दिन थियो र म बुलबुले मुनितिर तरकारीबारी खनिरहेको थिए । अपराह्न ४ः३० बजेको थियो । एक जना अपरिचित अन्दाजी ३०/३२ वर्षको मान्छे त्यही पुग्यो । उसको साथमा बच्ची थिइन् र उनी रुँदै थिइन् । रुने बच्ची को हुन् भनी उसलाई सोध्दा त्यो मान्छेले कति बेला छोरी भन्थ्यो त कुनै बेला भाञ्जी । उसको नाम सोध्दा श्याम ढकाल त भन्यो तथापि त्यो सही नाम थिएन ।”
उहाँका अनुसार त्यति सोधेपछि त्यो मान्छे हामीसँग केही कुरा गर्न खोजेर अलमलमा पार्न खोज्दै थियो । पछि शङ्का लागेर नानी तिमी उसलाई तिमी चिन्छ्यौ भनी सोधें ? तर बच्चीले म चिन्दैन भनेर रुँदै उत्तर दिइन् । त्यसपछि तत्कालै प्रहरीलाई सम्पर्क गर्नुपर्छ भनियो र हाम्रो झमेला देखेर नजिकका स्थानीयले प्रहरीलाई खबर गरेछन् । बच्ची खोस्न थाल्दा त्यो श्याम नामको अपरहरणकारीले आफ्नो दायाँ हातको औँलामा टोकेर घाइते बनाए पनि उसलाई लतारेर बच्ची हातमा ल्याउन सफल भएको बुढाले बताउनुभयो ।