भाद्र ५, काठमाडौं। अब दृष्टिविहीनले पनि छापाको सामग्रीलाई सहजरुपमा उपयोग गर्न सक्ने भएका छन् ।
दृष्टिविहीनका लागि सुनेर जानकारी लिन सक्ने तथा ब्रेल लिपिमा अध्ययनसमेत गर्न सक्ने सफ्टवेयर अप्टिकल रिकग्निसन सफ्टवेयर (ओसिआर) प्रयोगमा आएपछि नेपालमा पहिलोपटक दृष्टिविहीनले सार्वजनिक सूचनामा पहुँचसमेत पाएका हुन् ।
विश्व नेत्रहीन युनियनका अनुसार नेपालजस्ता विकाशोन्मुख देशमा जम्मा एक प्रतिशत छापाका सामग्रीमा मात्र दृष्टिविहीनको पहुँच छ । नेपाल नेत्रहीन सङ्घद्वारा आज आयोजित कार्यक्रममा नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडले सो सफ्टवेयर सार्वजनिक गरे । सोही दूतावासको रु २४ लाखको आर्थिक सहयोगमा दृष्टिविहीनका लागि काठमाडौँ विश्वविद्यालयका सूचना प्रविधि विज्ञ प्रा डा बालकृष्ण वल र निराजन पन्तले सो सफ्टवेयर विकास गरेका हुन् ।