माघ १६, काठमाडौं । साहित्यकार रामकृष्ण बान्तवाको उपन्यास ‘आमालाई चिठ्ठी’ बजारमा आएको छ ।
एक हजार १४८ पृष्ठको सो उपन्यास नेपाली साहित्यमा अहिलेसम्मकै सम्भवतः ठूलो उपन्यास कृति मानिएको छ ।
हङ्कङेली नेपाली डायस्पोराको साहित्यिक यात्राका क्रममा बान्तवाको यसअघि ‘सघन तुवाँलो’ उपन्यास प्रकाशित छ । ‘सघन तुवाँलो’ को अङ्ग्रेजी संस्करण ‘सिरिलमिस्ट’ पनि प्रकाशित छ । बान्तवाको रचना, राजु सिंहको सङ्गीत र आभा मुकारुङको स्वरमा ‘कता हिँडेको कसलाई खोजेको भन न भन ए बिरानो परदेशी’ गीत रेकर्ड भएको छ ।
‘आमालाई चिठ्ठी’ को मङ्गलबार विमोचन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बान्तवाको उपन्यास नेपाली साहित्यकै एक महत्वपूर्ण प्राप्ति भएको बताउनुभयो । नेपाली साहित्यलाई समृद्ध बनाउन डायस्पोराको ठूलो योगदान रहेको उहाँले उल्लेख गर्नुभयो ।
प्राज्ञ सभा सदस्य शशि लुमुम्बुले बान्तवा फरक ढङ्गले चिन्तन गर्ने स्रष्टा भएको उल्लेख गर्दै उनको उपन्यासले इतिहास रच्ने बताउनुभयो ।
साहित्यकार डा विष्णु राईले ‘आमालाई चिठ्ठी’ अहिलेसम्मकै नयाँ शैलीको भएको धारणा व्यक्त गर्नुभयो ।