फागुन ८, काठमाडौं । चुल्होचौकोबाट बाहिरिएर दक्षिण एशियाली नारी पुरुषसँग काँधमा काँध मिलाउँदै कठिनतम काम गर्न सक्षम छन् भन्ने सन्देश प्रवाह गर्न दुईदिवसीय क्षेत्रीय सम्मेलन ललितपुरमा प्रारम्भ भएको छ ।
ऊर्जा क्षेत्रमा महिलाको सहभागिता प्रवद्र्धन गर्ने उद्देश्यले विश्व बैंकको अगुवाईमा नेपालमा पहिलोपटक आयोजना भएको उक्त सम्मेलनको नेपाल, मालदिभ्स र श्रीलङ्काका लागि बैंकका निर्देशक आइडाह स्वाराई रिद्धिहौले उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले दक्षिण एशियाली देशका नारी हरेक क्षेत्रमा सशक्त रहेका तथा उनीहरूलाई अवसर दिएमा जस्तासुकै चुनौतीपूर्ण काम पूरा गर्न पनि उनीहरू पछि पर्दैनन् भन्नुभयो ।
सम्मेलनमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका सरकारी तथा गैरसरकारी क्षेत्रमा क्रियाशील दुईसय ५० महिला इञ्जिनीयर सहभागी छन् । सम्मेलनमा ऊर्जा क्षेत्रमा नारी उद्यमशीलता, ऊर्जा क्षेत्रमा महिला इञ्जिनीयरको सहभागिता तथा निरन्तरताको सुनिश्चितता, कनिष्ठ इञ्जिनीयरका लागि वृत्तिविकासको मार्ग, ऊर्जा र लैङ्गिक सन्तुलन, नवीकरणीय ऊर्जा क्षेत्रमा महिलाको योगदानलगायत विषयमा छलफल हुनेछ ।