फागुन २०, जुम्ला । तिला गाउँपालिकाले विपन्न महिलालाई स्वरोजगार बनाउने उद्देश्यले ढाका उद्योग सञ्चालन गर्न तीनमहीने ढाका बुनाई तालीम शुरु गरेको छ ।
घरेलु तथा साना विकास उद्योग समिति र गाउँपालिकाको समन्वयमा उक्त तीनमहीने आवासीय तालीम शुरु गरिएको हो । आगामी जेठको दोस्रो सातासम्म सञ्चालन हुने तालीममा गाउँपालिकाले रु १५ लाख बजेट विनियोजन गरेको अध्यक्ष रतननाथ योगीले बताउनुभयो ।
अहिले आधुनिकताभन्दा स्थानीय उत्पादनका वस्तुमा बढी रुचाइने भएकाले पनि गाउँपालिकामै ढाका उद्योग सञ्चालन गर्ने उद्देश्यले सो सीप सिकाउन आवश्यक भएको उहाँले जानकारी दिनुभयो । साना तथा घरेलु विकास समितिका नायब सुब्बा देवीराम न्यौपानेका अनुसार मागका आधारमा घरेलुले काम गर्दै आएको छ ।
ढाका बुन्ने तालीमका प्रशिक्षक दैलेखका मसान्ती भण्डारीले आफू पनि घरेलुको तालीमबाट प्रशिक्षक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो आठ जनाको समूह थियो रामेछापका प्रशिक्षकले ढाका बुन्ने सीप सिकाएपछि अहिले दैलेखमा उद्योग सञ्चालन गरेका छौँ ।”
तालीमका सहभागी बबिता कुँवरका अनुसार तालीमबाट सिकेको सीपबाट स्वरोजगार बन्ने अपेक्षाका साथ सीप सिक्न आएको बताउनुभयो । त्यसैगरी तातोपानी गाउँपालिकाले पनि १० जना विपन्न महिलालाई छनोट गरी ढाका बुन्ने तालीम शुरु गरेको छ ।