असोज ११, नुवाकोट। विदुर नगरपालिका–५ कार्यालयले वडाभरिकै वृद्धा ९८ वर्षीया सरस्वती अर्याललाई ‘वडाकी आमा’ का रुपमा मंगलबार सम्मान गरेको छ ।
विदुर –५ देवीघाटस्थित ज्येष्ठ नागरिक अध्ययन प्रतिष्ठानमा मंगलबार आयोजित कार्यक्रममा एमालेका पोलिटब्यूरो सदस्य महेन्द्रबहादुर पाण्डेले सम्मान गरे ।
विसं १९७५ मा जन्मिनुभएकी अर्यालाई वडाभरिकै ज्येष्ठ नागरिक भएकालेसम्मान गरिएको वडा नं ६ का वडाध्यक्ष शिवकुमार चित्रकारले बताए ।
‘वडाकी आमा’ अर्याललाई वडा कार्यालयबाट प्रदान गरिने सिफारिस तथा अन्य सबै सेवा निःशुल्क प्रदान गरिने छ ।
कार्यक्रममा वडाभरिका १४८ ज्येष्ठ नागरिक र ४४ दलित ज्येष्ठ नागरिकलाई पनि जाडोमा ओढ्ने कम्बलसहित सम्मान गरिएको थियो ।
एमालेका पोलिटब्यूरो सदस्य महेन्द्रबहादुर पाण्डेले ज्येष्ठ नागरिकको स्याहारसुहार, औषधोपचार र पालनपोषणको जिम्मा सरकारले लिनुपर्ने बताए ।