भदौ १२, झापा । झापाको भद्रपुरस्थित ओम साई पाथीभरा हस्पिटलमा एक युवतीको पेटभित्र रहेको करिब १० किलोको अण्डाशयको ट्युमरको सफल शल्यक्रिया गरिएको छ।
मेचीनगर–१५ स्थित ज्यामिरगढीकी १८ वर्षीया ती युवतीको पेटभित्र रहेको ट्युमर बिनाचिरफार दूरबिन प्रविधिबाट निकालिएको हो ।
गत शुक्रबार ती युवतीको पेट एक्कासी दुख्न थालेपछि उनलाई ओमसाइमा भर्ना गरिएको थियो । उनको पेट असाधारणरुपमा सुन्निएकाले शल्यक्रिया गर्न सुझाव दिएपछि चिकित्सकको टोलीले सोही दिन ट्युमर झिकेर फालिदिएको हो ।
करिब दुई घण्टा लगाएर ट्युमरको सफल शल्यक्रिया गरिएको डा शशि सिंहले बताए। उनका अनुसार सानो आकारको तीन वटा प्वाल बनाएर पेटभित्र रहेको ट्युमरको शल्यक्रिया गरिएको हो । शल्यक्रियामा डा सिंहसहित डा सुमन सिंह र डा मुस्कान सिंह सहभागी थिए । चिकित्सकका अनुसार यति ठूलो ट्युमर कमैमात्रामा हुने गरेको छ । ती युवतीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र केही दिनमै घर पठाइने अस्पतालले जनाएको छ ।
छोरीको उपचार सफल भएपछि आमा हृदय राजवंशीले खुशी व्यक्त गर्दै चिकित्सकको टोलीलाई धन्यवाद दिए । उनले आफ्नो आर्थिक अवस्था कमजोर रहेकाले अस्पतालमा लागेको खर्चमा केही हेरिदिन आग्रह पनि गरे ।