माघ १ , काठमाडौं । आज माघे संक्रान्ति पर्व मनाइँदैछ । खासगरी थारु र मगर समुदायले विशेष रुपमा मनाउने यो पर्व अहिले सबैतिर फैलिएको छ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर अर्थात माघे सङ्क्रान्ति भन्ने गरिन्छ । थारु समुदायले भने माघीलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् ।
पर्वका अवसरमा काठमाडौं लगायत विभिन्न ठाउँमा माघी विशेष मेलासमेत लागेका छन् । जहाँ थारु समुदायका परम्परागत र सांस्कृतिक प्रस्तुतिको प्रदर्शन गरिएको छ ।
माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा पनि आज मेलासमेत लाग्ने गर्छ ।
तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् ।
बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने विश्वास गरिन्छ ।
उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जनविश्वास छ ।
माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने आयुर्वेदका चिकित्सकको भनाइ छ ।
तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ । यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रूपमा समेत प्रयोग गरिन्छ ।
आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।
सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ ।
माघ महिनामा माघमाहात्म्यको पनि ठूलो महत्त्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि शुरु हुन्छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ ।
यस वर्ष पौष शुक्ल पूर्णिमा अर्थात् पुस २२ गतेदेखि श्री स्वस्थानी व्रतकथा शुरु भइसकेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यो व्रत गर्नेले चान्द्रमासअनुसार माघ महिनाभर स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवको पूजा आराधना गर्छन् । यसैले यसलाई माघस्नान पनि भनिन्छ।
माघे सङ्क्रान्तिका अवसरमा यस वर्षदेखि कृषि तथा पशु पंक्षी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउने भएको छ । माघ १ गते तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको सेवन गरिने भएकाले यो दिवस मनाउन लागिएको जनाइएको छ ।
फागुन २२, रूकुम । रूकुमपश्चिमको आठबीसकोट नगरपालिका–३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र...
पुस १७,काठमाडौं । लोपोन्मुख वन्यजन्तु पोथी रेडपान्डा इलामको सन्दकपुर गाउँपालिका-५ जौबारीमा...
पुस १५,काठमाडौं । बनेका कानुन कार्यान्वयन नगर्न हस्तक्षेप गरेकै कारण कानुन अभ्यासमा जान...
पुस ८,काठमाडौं । प्रतिनिधिसभा सदस्य सोविता गौतमले सांसदहरू जनताका चासो र सरोकारका सबै...
पुस १,काठमाडौं ।प्रतिनिधिसभा सदस्य डा चन्दा कार्की (भण्डारी)ले जनप्रतिनिधि जनतामा मुद्दामा...
पुस १, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विकास र समृद्धिका लागि...
मंसिर २६, काठमाडौं । म्याङलुङ बजार कारागार टोलकी मञ्जु लिम्बू ढाकाको सारी बुनेरै दुई जनाको...
मंसिर २५, काठमाडौं ।उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म...
मंसिर २४, काठमाडौं ।रोजगारीको सिलसिलामा कुवेतमा पुगेर चरम श्रम शोषणमा परेकी म्याग्दीको बेनी...