► रामहरि न्यौपाने
माघ १, बेत्रावती । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा गत साता भएको बालविवाह यहाँको बालक्लबको पहलमा आज रद्द भएको छ । घ्याङफेदी माविमा अध्ययनरत विद्यार्थी आबद्ध रेडपाण्डा बाल क्लबको पहलमा बालविवाह बदर भएको हो । क्बलका अध्यक्ष राजु तामाङका अनुसार विद्यालयमा अध्ययनरत कक्षा ७ का १५ वर्षीय छात्र र कक्षा ८ मा अध्ययनरत १७ वर्षीया छात्राबीच भागेर गरेको विवाह रद्द गराइएको हो । “भागेर विवाह गरेका उनीहरुलाई परिवारको साथमा केटा पक्षले घरमा भित्र्याएको थियो,” तामाङले भन्नुभयो, “क्लबका पदाधिकारी र विद्यालयका शिक्षकको पहलमा अभिभावकलाई सम्झाएपछि उनीहरुलाई छुट्टी–भिन्न गराइएको छ ।” विवाहपश्चात् विद्यालय आउन छाडेपछि उनीहरुले विवाह गरेको सूचनाका आधारमा लगातार एक साताको प्रयासमा क्लबमा आबद्ध विद्यार्थीले नै विवाह रद्द गराइदिएका हुन् । विवाह रद्द भएसँगै उनीहरु अध्ययनका लागि आ–आफ्नो घरबाट विद्यालयसमेत आउन शुरु गरेको घ्याङफेदी माविका सहायक प्रअ प्रेम स्याङताङले जानकारी दिनुभयो । “विद्यार्थी र शिक्षकले अभिभावकसहित केटाकेटीलाई कानूनी रुपमा उमेर नपुगी विवाह गर्नु दण्डनीय हुने भनेर सम्झायौँ,” स्याङताङले भन्नुभयो ।
दुर्घटनामा ज्यान गुमाएका परिवारलाई राहत
दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा गत मङ्सिर २८ मा मिनीट्रक दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिको परिवारलाई राहतस्वरुप नेपाली काङ्ग्रेस नुवाकोटले सङ्कलन गरेको राहत रकम आज उपलब्ध गराएको छ । दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई घरमा नै पुगेर काङ्ग्रेस जिल्ला सदस्य शशीसागर पण्डितले पीडित परिवारलाई रु पाँच हजारको दरले रु एक लाख दश हजार प्रदान गर्नुभयो । उक्त दुर्घटनामा २२ जनाले ज्यान गुमाएका थिए । मिनीट्रक दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिका परिवारको आर्थिक अवस्था निकै कमजोर भएको र मिनीट्रकमा यात्रुको बीमासमेत नहुने भएकाले सहयोगस्वरुप राहत रकम उपलब्ध गराएको पण्डितले बताउनुभयो । मिनीट्रक दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिको परिवारलाई दुप्चेश्वर गाउँपालिकाले रु २५ हजारका दरले राहत रकम प्रदान गरेको थियो ।
दुप्चेश्वर गाँउपालिकाको अपिलअनुसार नुवाकोटको ककनी गाउँपालिका–७ चतुरालेका समाजसेवी दिवाकर थपलियाले रु ५० हजार र काठमाडौँको टङ्केश्वर हार्डवेयर जरङ्खुका तर्फबाट व्यवसायी हेम गौतमले रु ६० हजार रकम उपलब्ध गराउनुभएको थियो । गत मङ्सिर २८ मा भएको मिनीट्रक दुर्घटनामा परी घटनस्थलमा १८ जना र उपचारका लागी लैजाँदै गर्दा तथा उपचारका क्रममा गरी २२ जनाले ज्यान गुमाएका थिए । दुर्घटनामा परी घाइते भएका १२ जनाको काठमाडौँस्थित विभिन्न अस्पतालमा अहिले पनि उपचार भइरहेको छ । पीडित परिवारलाई यहाँका विभिन्न गाउँपालिका, व्यवसायी तथा समाजसेवीले पनि सहयोग पुर्याउने क्रम जारी रहेको छ ।