पुस २२, दाङ ।सडक दुर्घटना न्यूनीकरणका लागि भन्दै प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर दाङको आयोजना तथा राप्ती आँखा अस्पताल रक्षाचौर दाङको आयोजनामा आज राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–सल्यान सडक खण्डमा पर्ने तुलसीपुर उपमहानगरपालिका–३ को गोटी खोलामा चालकका लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
प्रदेश नं ५ का प्रहरी प्रमुख पिताम्बर अधिकारीले शिविरको उद्घाटन गर्दै सो प्रदेशमा सवारी दुर्घटनाको तथ्याङ्कलाई विश्लेषण गर्दा करीब ८५ प्रतिशत सवारी दुर्घटना मानवीय कमजोरीका कारण हुने गरेको भन्दै दुर्घटना न्यूनीकरणका लागि सवारी चालकलाई निःशुल्क स्वास्थ्य जाँच शिविर शुरु गरेको बताउनुभयो । बिहानदेखि शुरु भएको शिविरमा हालसम्म लामो तथा छोटो दूरीमा सञ्चालन हँुदै आएका गाडीलाई बाटोमा नै रोकेर स्वास्थ्य परीक्षण ९रक्तचाप र आँखा गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख जीवनकुमार शाहीले जानकारी दिनुभयो ।
गत पुस ६ गते तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा भएको बस दुर्घटनामा परी विद्यार्थी, शिक्षक, बसचालक र सहचालक गरी २३ जनाको मृत्यु भएको थियो । त्यसैगरी गत मङ्सिर मसान्तका दिन चितवनबाट दुलही लिएर बाँकेको राप्ती सोनारी गाउँपालिकातर्फ आउँदै गरेको जन्तीको गाडी दुर्घटना हुँदा दुलाहाका बुबाआमासहित ६ जनाको लमही नगरपालिका–९ रिहारमा मृत्यु भएको थियो ।