माघ ४, पर्वत - यहाँको एक विकट गाउँमा सञ्चालित आयुर्वेद औषधालयको भवन निर्माणका लागि स्थानीय बासिन्दाले निःशुल्क जग्गा प्रदान गरेका छन् । पर्वतको मोदी गाउँपालिका वडा नं ७ राम्जादेउरालीमा रहेको आयुर्वेद औषधालयको भवन बनाउन स्थानीयले जग्गादान गरेका हुन् ।
विसं २०७२ मा स्थापना भएको औषधालयको आफ्नै जग्गा र भवन नभएपछि स्थानीयले भवन बनाउन जग्गादान गरेका हुन् । मोदी–७ का छ जनाले औषधालय निर्माणका लागि चार रोपनी जग्गा दान गरेका हुन् । राम्जा पँधेरापारीका यदुप्रसाद पौडेलले दुई रोपनी नौ आना तीन पैसा दुई दाम, पार्वती शाहीले १५ आना दुई पैसा एक दाम, बिजुला शर्माले दुई आना एक पैसा दुई दाम र र यमनाथ पौडेल, सुननारायण पौडेल, जीवनाथ शर्मा र यदुप्रसाद पौडेलले पनि संयुक्त जग्गामध्येको चार आना जग्गा दान गर्नुभएको राम्जादेउराली आयुर्वेद औषधालयका प्रमुख कविराज प्रकाशचन्द्र सुवेदीले जानकारी दिनुभयो ।
सञ्चालन तथा व्यवस्थापन समितिको निरन्तर प्रयास, जनप्रतिनिधिको चासो र स्थानीयवासीको सक्रियतामा संस्थाका नाममा जग्गा पास गरिएको सुवेदीले बताउनुभयो । भवन मागका लागि माथिल्लो निकायसम्म पहल शुरु भएको सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं वडाध्यक्ष वसन्तकुमार गुरुङले बताउनुभयो ।
दुई जना प्राविधिक कर्मचारी र दुई अन्य कर्मचारीसहित औषधोपचार सेवा दिँदै आएको यो औषधालयमा सर्वसाधारणले सेवा लिन सहज भएको बताउँछन् । तर भवन नहुँदा व्यवस्थापनमा समस्या रहेको थियो । भवन बनेपछि औषधालयमा उपचार कक्ष, औषधि भण्डारण कक्ष, पञ्चकर्म कक्ष, पञ्चकर्म कक्ष, पूर्वकर्म कक्ष स्टिम बाथ, शिरोधारा, व्यायाम सेवा प्रदान गर्न सकिने सञ्चालन तथा व्यवस्थापन समितिले जनाएको छ ।
यो औषधालयमा राम्जाका अलवा, चित्रे, तिलाहार, कुश्मा नगरपालिका– ११ पकुवाका बिरामीले उपचार पाउने गरेका छन् । पेट, नशा, वाथ, पिनास, पायल्स, स्त्रीसम्बन्धी रोगको उपचारका लागि दैनिक २० जनाजति बिरामी आउने गरेको वैद्य रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
पछिल्लो समय आयुर्वेदिक उपचारप्रति नागरिकको विश्वास बढ्दै गइरहेको अवस्थामा आयुर्वेदिक उपचार सेवालाई प्रभावकारी बनाउन राम्जाका बासिन्दा कस्सिएका हुन् । पर्वतमा जिल्ला अयुर्वेदिक स्वास्थ्य केन्द्र फलेवाससहित शङ्करपोखरी, हुवास, सेतीबेनी र राम्जामा आयुर्वेदिक औषधालय सञ्चालनमा रहेका छन् ।